विजयपुर । कोशी प्रदेशमा होलीका दिन सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको धनपालथान गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कार्यालयका डीएसपी मोहन दाहालका अनुसार बिआर ३८ वाई २२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार भारतको अररिया बस्ने ३० वर्षीय नन्दद महतोको मृत्यु भएको हो । उनले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताए । महतोको टाउकोमा गहिरो चोट लागेको थियो । उनका अनुसार मोटर साइकल चालक ३५ वर्षीय लिख्नचन्द मण्डल घाइते भएका छन् ।
त्यस्तै मोरङको कटहरी गाउँपालिका–४ का मोहम्मद समिमको पनि दुर्घटनामा मृत्यु भएको छ । समिम सवार को.१० प ११९७ नम्बरको मोटरसाइकल र को.३१ प ९२६० नम्बरको अर्को मोटरसाइकलसँग ठक्कर खाँदा उनको मृत्यु भएको हो ।
९ सय ३४ सवारी नियन्त्रणमा
होलीको दिन ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने ९ सय ३४ सवारी प्रहरीले नियन्त्रणका लिएको छ । सबैभन्दा बढी मोरङबाट ३ सय ७३ सवारी साधन नियन्त्रणमा लिएको छ । झापाबाट ३ सय ३२, सुनसरीबाट १ सय ९१, उदयपुरबाट ५१ सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कागजात दुरुस्त नभएका, मादक पदार्थ सेवन गरेका र तीनजना सवारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सवारी चालकमध्ये केहीलाई सम्झाएर छोडिएको छ भने केहीलाई जरिबाना गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गतवर्षको होलीमा २४ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते र २८ जना सामान्य घाइते भएका थिए । यसपटक भने प्रदेशभर ११ वटा दुर्घटना भएका छन् । त्यसमा दुईको मृत्यु र ५ गम्भीर घाइते तथा ४ सामान्य घाइते भएका छन् ।