मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ भइरहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् ।
प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ । अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहेकै छन् । तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् ।
खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको मोरङ बेलबारीका फुटबल प्रशिक्षक शङ्र सुवेदी बताउँछन् ।
बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । ‘संघीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन’, उनले भने, ‘स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दैआएका छौँ ।’
मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् । बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन् । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएकोे बताउँछन् ।
‘जल्ला फुटबल संघ आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन’, उनले भने ।
भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेलेका विक्रम लिम्बूले भने, ‘खेल सामग्री पर्याप्तरुपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।’ राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उनले जोड दिए ।
मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर डाँगीहाट युथ क्लब स्थापना भएको छ । भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ ।
स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई बताउँछन् ।
विसं २०७० मा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँचवटा गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ । अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिए ।
स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ । प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदैआएका छन् ।
विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ । क्लबले तीनवटा गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ–११ को खेल भएको थियो । तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ ।
बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब । त्यसैगरी उर्लाबारी स्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैँचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ क्लब खेल गतिविधिमा सक्रिय रहेको प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन् ।
‘खेलाडीले पर्याप्त खेल सामग्रीका साथै प्रशिक्षक पाउनसके खेलको स्तर पक्कै उकासिने छ’, उनले भने ।
मोरङमा रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार पनि खेल गतिविधिका लागि परिचित छन् ।
– बेलबारी (रासस)