धरान १५ स्थित एक सेवाग्राहीका घरमा एक महिनामै खानेपानीको महसुल ४ लाख रुपैयाँको आएको छ । 

न्युनत्तम १ सय ३० रुपैयाँ रहेको पानीको महसुल एक महिनामै ४ लाख रुपैयाँ आएपछि सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । उनी जंगिदै धरान १५ स्थित वडा कार्यालय नजिक रहेको खानेपानी बोर्डको महसुल काउन्टर ‘पिण्डेश्वर खानेपानी वितरण उप–प्रणाली’ पुगेका थिए । 

महसुल काउन्टरमा रहेकी कर्मचारी पूजा बिमली सुवेदीले सेवाग्राहीबाट बिल लिंदै ‘मिस्टेक’ भएको भन्दै राखेकी थिइन् । उनले संचारकर्मीलाई सूचना दिन नमाने पनि मिटर रिडिङ गर्दा गल्ती भएको स्वीकार गरिन् । 

‘हैन, हैन त्यो मिस्टेक भएको हो कि, मिटर रिडिङमै मिस्टेक भएको हो,’ अप्ठ्यारो मान्दै कर्मचारीले भनिन्, ‘त्यस्तो होइन केही पनि, त्यो सुध्रिहाल्यो अघि नै ।’ 

लामो समयसम्म पानीको बिल भुक्तानी नगर्दा सस्थागतरुपमा ३ लाख रुपैयाँसम्म एकैपटक भुक्तानी गरिएको उदाहरण छ तर रिडिङमै ४ लाख रुपैयाँ बिल कर्मचारीको असावधानीले आएको देखिन्छ । 

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार धरानमा अनुमानित ३० हजार धारा जडान गरिएको छ ।