झापा /दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । 

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन्  । 

उनका अनुसार वडा नम्बर – ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी रहेका छन् । उनले  विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको विरुवा नै वितरण गरिरहेको बताए। आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो, उनले भने,  बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन । 

वडा नम्बर –४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक रु २५ लाख आम्दानी गरेको बताएका छन् । उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको बताएका छन् । उनले चार वर्षअगाडी दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेको बताए छन् । 

विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनले बताएका छन् ।  बाहै्र महिना फल्ने सुनकागतीको खेती गरेका छन् । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी रु ७५ ले कागती बिक्री हुने गरेको उनले बताएका छन्। 

धान तथा मकै बाली भित्र्याउन हात्तीले नदिने हुदा  कागती खेती सुरुगरेको बताउछन् अहिले हातीको समस्या कम भएको बताउछन् । हाल स्थानीय छ जनालाई समेत रोजगारी दिरहेका छन् ।  समयमै गोडमेल, मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने उनको अनुभव छ ।