झापा/ मेचीनगर नगरपालिका वडा नम्बर –१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । पुल बनपछि बर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् । 

वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा  वडा कार्यालय पुग्न वडा नंं।१०को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताएका छन्  । 

उनका अनुसार दस मिनेट लाग्ने पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो । सङ्घीय सरकारको रु। एक करोड ३० लाखको लागतमा १ सय ३० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । 

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरेका हुन्  । वि।संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको बताएका छन् ।