झापामा फुटबलका सात सयभन्दा बढी व्यावसायिक खेलाडी
झापामा विगतमा खसी र भाले पुरस्कार राखेर सहर र गाउँमा प्रशस्त फुटबल प्रतियोगिता सञ्चालन हुन्थे। दसैँ र तिहारका बेला आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा ठूलो योगदान दिएका थिए। अहिले त्यस्तो चलन तोडिएर नगद राशिको पुरस्कारमा रुपान्तरण भएको छ।
स्थानीय सहकारी, उद्योगी र व्यापारीले फुटबल प्रतियोगितामा आर्थिक सहयोग पु¥याएर खेलकुदको विकासमा हौसला बढाइरहेको उनको भनाइ छ। कोरोना महामारी अघिसम्म झापामा वार्षिक चार वटासम्म अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। उनले महामारीको असर फुटबल खेलमा पनि परेको बताए।
विगतमा झापा गोल्डकप, शिवसताक्षी गोल्डकप, काँकरभिट्टा गोल्डकप र रोलिङ च्यालेन्ज गोल्डकप सञ्चालन हुने गरेका थिए। अहिले भद्रपुर गोल्डकप थपिएको छ। “अहिले ठूला पुरस्कार राशिका प्रतियोगिता झापा र भद्रपुर गोल्डकपमा सीमित भयो”, उनले भने “त्यही पनि बर्सेनि आलोपालो सहमतिमा आयोजना हुने गरेका छन्।”
अस्मिता खवासलगायतका महिला खेलाडीले राष्ट्रिय टिममा बसेर योगदान पु¥याउनुभयो भने हरि खड्का, मीन बस्नेत, प्रवेश कटुवाल, विशाल राई, सचिन्द्र धिमाललगायतका खेलाडीले पुरुष राष्ट्रिय टोलीको विभिन्न जिम्मेवारी सम्हालेका छन्।
अध्यक्ष आलेले जिल्लामा हाल (ए) डिभिजनका आठ वटा र (वी) डिभिजनका ११ वटा गरी १९ वटा क्लब रहेको बताएका छन्। जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका विभागीय टिममा खेल्ने खेलाडी पनि उत्तिकै रहेको बताएका छन्। उनले सात सयभन्दा बढी व्यावसायिक खेलाडीले झापाको फुटबल प्रतियोगितामा सहभागिता जनाउने गरेको बताएका छन्।
झापामा विभिन्न प्रतियोगितामा विजेताले एक लाखदेखि १३ लाखसम्म पुरस्कार पाउनेगरी फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन्। खेलाडी उत्पादन र उत्कृष्ट खेलाडी चयनका लागि झापा लिग पनि भइरहेको छ। झापाको रोलिङ च्यालेन्ज गोल्डकपको सुरुआतकर्ता पङ्कजविक्रम नेम्वाङ हाल अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष नै रहेका छन्।
जिल्लामा हुने वडा र टोलस्तरीय फुलबल प्रतियोगिताका लागि सङ्घसँग अनुमति लिनु नपर्ने हुँदा वार्षिक रुपमा हुने सयौँ खेलको लेखाजोखा छैन। नयाँ खेलाडी र प्राविधिक जनशक्ति उत्पादन गर्न सङ्घ लागि परेको उनले बताए। उनले प्राविधिक र नयाँ खेलाडी उत्पादनमा जोड दिइरहेको बताएका छन्। उनले जिल्लामा खेल सिकाउन हाल ६० जना दक्षप्राविधिक र २४ जना रेफ्री रहेको बताएका छन्।
अध्यक्ष नेम्वाङले चालु आर्थिक वर्षभित्रमै थप दक्ष प्राविधिक उत्पादनको तयारी गरिरहेको बताए। उनले युवालाई कुलतमा फस्न नदिन र विदेश पलायन रोक्ने माध्यम फुटबल नै भएको हुँदा सरकारले तत्काल नीति बनाएर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। छिमेकी मुलुक भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किमका बासिन्दाले फुटबल खेलेको देखेर झापाली युवा फुटबल क्षेत्रमा दशकौँ अघिदेखि आकर्षित भएको उनको भनाइ छ।
उनले भद्रपुर, कनकाई र अर्जुनधारा नगरपालिकाका प्रमुख क्रमशः गणेश पोखरेल, राजेन्द्र पोखरेल र बलदेव गोम्देन पनि जिल्लाका चर्चित फुटबल खेलाडी रहेको बताएका छन्। झापामा मेची रङ्गशाला मात्र राम्रो र सुविधा सम्पन्न खेल मैदान छ। उनले विर्तामोडमा रहेको अव्यवस्थित रङ्गशालालाई पनि सरकारीस्तरको बनाउन तीनै वटा तहको सरकारले पहल गर्नुपर्ने बताए। रङ्गशाला फराकिलो भएको, एकान्त स्थानमा पनि रहेको तथा यातायातको सुविधा भएको र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको उनको भनाइ छ।
हाल जिल्लामा रहेका सामुदायिक वन क्षेत्रभित्र भएका खेल मैदान र विद्यालयका खेल मैदानलाई फुटबल प्रतियोगिताका लागि प्रयोग गरिँदै आएको आलेले बताए। स्थानीय पालिकाले आफ्नो छुट्टै रङ्गशाला निर्माणमा चासो देखाइरहेका छन्।त्यसले झापाको फुटबल भविष्य अझ राम्रो हुने उनको कथन छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































