विजयपुर। पछिल्लो एक महिनाभित्र धरान उपमहानगरापलिकाका मासु व्यवसायीले अघोषितरूपमा बङ्गुरको मासुको मूल्यमा प्रतिकिलो एक सय रुपैयाँ वृद्धि गरेका छन् । मासुको मूल्यमा अवैधानिकरूपमा वृद्धि भए पनि नियमनमा सबै तहमा सरकारी निकाय मौन देखिएका छन् ।

धरान बजारमा मासु व्यवसायीहरूले ५ सय रुपैयाँदेखि बढाएर ६ सय रुपैयाँ पु¥याएका छन् । वृद्धि गरेको मूल्यमा पनि एकरूपता छैन । कतै मासुको प्रतिकिलो मूल्य ५ सय ६० रुपैयाँ छ भने कतै ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमार्फत् बङ्गुरको मासु प्रतिकिलो ५ सय ६० रुपैयाँ मात्र भएको जानकारी गराएका छन् । तर नगर प्रमुख राईले लेखेजस्तो बजारमा ५ सय ६० रुपैयाँ मात्र मूल्य छैन ।

मनपरीरूपमा बिक्री भइरहेको छ । नगर प्रमुख राईको फेसबुक पोष्टमा घमान सिंह नाम गरेको व्यक्तिले ‘६ सय रुपैयाँ लिन्छ त’ भनेर प्रतिक्रिया जनाएका छन् । यस्तै खड्गबहादुर विश्वकर्माले ‘सर प्रतिकिलो ६ सय रुपैयाँमा बेचिराखेका छन् त धनकुटे रोड, पुलचोकमा’ भनेर प्रतिक्रिया जनाएका छन् ।

ब्लाष्टकर्मीले विभिन्न स्थानका मासु पसलमा बुझ्दा पनि मूल्य फरक फरक मूल्यमा बिक्री गरेको पाइएको छ । धरान–१५ स्थित बगरकोटका एक मासु पसलेसँग बुझ्दा ती व्यवसायीले भने, ‘छानेर लाने भए ६ सय नभए ५ सय ६० रुपैयाँ छ ।’

तर, स्थानीय सरकार सञ्चालन ऐनअनुसार बजार अनुगमनको जिम्मेवारी पाएका धरान उपमहानगरपालिकाका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक अइन्द्रविक्रम बेघा मूल्य वृद्धिका विषयमा मौन देखिएका छन् । उनले मासु पसलेहरूसँग एकपटक छलफल गराएपश्चात् प्रतिकिलो मासुको मूल्यका विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

उपमहानगरपालिकाले एकातर्फ अघोषितरूपमा मूल्य वृद्धि गर्न दिनु र अर्कातर्फ अनुगमन गरी एकरूपतासमेत कायम नगर्दा उपभोक्ता मारमा परिरहेका छन् । उपभोक्ता श्याम मगरले भने, ‘बजारमा फरक–फरक मूल्य छ । नियमन नगर्दा उपभोक्ता मारमा परिरहेका छौँ ।’ अन्य उपभोक्ताले पनि मूल्यमा एकरूपमा नहुँदा मारमा परिरहेको प्रतिक्रिया दिएका छन् । बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख बेघाले फोन उठाएनन् । धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले ५ सय ६० रुपैयाँभन्दा बढी लिएमा कारबाही हुने बताए । उनले भने, ‘६ सय लिएको पाइएमा कारबाही गर्छौं । सबैले ५ सय ६० रुपैयाँमा बिक्री गर्नुपर्छ ।’

प्रत्येक पसलले मूल्यसूची राख्नुपर्ने व्यवस्था गर्ने उनले बताए । अघोषितरूपमा मूल्य वृद्धि भएको भन्ने जिज्ञासामा बजार अनुगमन अधिकृत सापकोटाले भने, ‘धरान उपमहानगरपालिकाले निर्धारण गरेको छैन । सबैतिरको अध्ययन गर्दा ५ सय ६० रुपैयाँमा बिक्री भइरहेको पाइएकाले धरानमा पनि त्यही गर्न दिने कुरा भएको हो ।’ उनका अनुसार धरानमा बङ्गुर उत्पादन नहुने र धरानबाहिरबाट ल्याउनुपर्ने हुदाँ मूल्य बढ्न गएको हो । तर एकरूपता कायम गर्ने उनले बताए ।