भद्रपुर । करिव ६ दशकदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले प्रधानमन्त्रीको हातबाट पाएका छन् ।

साबिक महारानीझोडा गाविस र हाल गौरादह ४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन् ।

गौरादह –५, स्कुलचौनस्थित शिव मन्दिर परिसरमा विशेष नापी कार्यालय झापाको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जग्गाधनीहरुलाई धनीपुर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । करिब ३ सयवटा पूर्जा वितरण गरिने जनाइएको छ ।

गत साउन महिनादेखि धनीपुर्जा वितरणको प्रक्रिया शुरु भएको थियो । त्यहाँको करिव ५ हजार विगाह जग्गाको धनीपुर्जा प्राप्त हुन सकेको थिएन । ती जग्गा करिव साढे ७ हजार जनाले भोगचलन गर्दै आएका छन् । यति धेरै जनाको जग्गाको समस्यालाई पटक पटक समाधान गर्न खोजिएपनि हल भएको थिएन । केपी ओली नेतृत्वको सरकारले त्यहाँको जग्गाको समस्या हल गर्नेगरी काम अगाडि बढाएको थियो ।

बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३ स्थित बेलडाँगी खानेपानी आयोजनाको उदघाटन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाई आदिका अभियान सञ्चालन गर्ने बताए ।

उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उल्लेख गरे ।

देश बनाउन सबै एकताबद्ध हुनु भन्दै बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश नबन्ने उनले सुनाए । विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्ने उनको भनाइ थियो । तपाईंहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु’ उने भने ।

कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित आयोजनाबाट नगरपालिकाको वडा नं २,३ र ४ का छ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई समेत सम्मान गरिएको थियो ।