वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाले वडा नम्बर १ र २ मा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।
बिहीबार आयोजित शिविरमा एक सय २० जनाको आँखा जाँच गर्दा ३३ जनामा मोतिया बिन्दुको समस्या देखिएको नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए । मोतिया बिन्दु भएकामध्ये २५ जनालाई तत्काल शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल लगिएको छ ।
उच्च रक्तचाप, मुटु तथा मधुमेह भएका कारण आठजनाको केही समयपछि शल्यक्रिया गरिने शाखा प्रमुख मेहताले जानकारी दिए । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा रामलाल गोल्छा आँखा अस्पतालका चिकित्सकहरूले सेवा दिएका थिए । नगरले अन्य वडामा समेत शिविर सञ्चालन गर्ने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।