विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले सङ्घीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक लेखा समिति सभापति पोखरेलले पदबाट राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।

पोखरेल पत्नी अञ्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन् । उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमेत जारी गरिसकेको छ । सहकारी ठगी प्रकरणको निष्पक्ष अनुसन्धानको लागि माओवादीले पोखरेलको राजीनामा मागेको हो । पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता  आङ्बोले पोखरेलको राजीनामा मागे ।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । सहकारी ठगीमा पोखरेलकी पत्नी जोडिएको भएपनि प्रहरीले उनलाई कुनै सोधपुछसमेत नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सहकारी ठगीमा जोडिएका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने गरेको प्रहरीले सत्तारुढ दलकै सांसद्की श्रीमती जोडिएको कारण उनलाई पक्राउ नगरेको आरोप लाग्दै आएको छ । मुद्दा दर्तापछि विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी अञ्जला विद्यालयमा ५ दिनको बिदा लेखेर सम्पर्कविहीन छन् ।

सहकारी ठगीमा आफ्नो र परिवारको संलग्नता नरहेको दाबी यसअघि सभापति पोखरेलले गर्दै आएका थिए । उनले आफ्नो र परिवारको सहकारी ठगीमा संलग्नता देखिएमा झुण्डिन तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, उनकी श्रीमती सञ्चालक रहेको समयमा सहकारीमा अनियमितता भएको छानविनबाट पुष्टि भइसकेको छ । अहिले भने पोखरेल मौन रहेका छन् ।

माओवादी दलका नेता आङ्बोले नैतिकताका आधारमा पोखरेलले राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्नुपर्ने बताए । सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै श्रीमती सहकारी ठगीमा जोडिएको विषय गम्भीर रहेको भन्दै उनले सहकारी ठगीको निष्पक्ष अनुसन्धानको माग गरे ।

आङ्बोले सरकार निरिह र लाचार बनेको भन्दै तत्काल प्रदेश सभा अधिवेशन बोलाउन पनि माग गरेका छन् । सरकार बेथितिपूर्ण ढङगले चलेको भएपनि संसदमा जनताले थाहा पाउने गरि बहस गर्न चाहेको उनको भनाइ छ ।