धरान । धरान–१३ मा रहेको धरानको कृषिउपज बजार व्यवस्थापन समितिको अध्यक्षमा हालै निर्वाचित काजी गिरीलाई यहाँका उद्योगी व्यवसायीहरूले सम्मान गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गिरीधारी सापकोटाको अगुवाइमा शुक्रबार होटल ड्रिमल्याण्डमा सम्मान गरिएको हो । नवनिर्वाचित अध्यक्ष गिरीलाई कृषिउपज बजारलाई व्यवस्थित र नमुना बजार बनाउन सुझावसमेत व्यवसायीहरूले दिएका थिए । कृषकहरूको उत्पादन बिक्री वितरणमा सहजता गर्न र विषादी परीक्षणमा ध्यान पुर्याउन व्यवसायीहरूले अध्यक्ष गिरीलाई सुझावसमेत दिए ।
अध्यक्ष गिरीलाई खादा माला र अविर लगाएर सम्मान गरिएको थियो । सापकोटाले सहजीकरण गरेको कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, सदस्यहरू नवीन राजभण्डारी, स्थानीय भवन निर्माण व्यवसायी सङ्घका अध्यक्ष तथा सङ्घका सदस्य नारायण लिम्बू, निर्माण व्यवसायी नरेश मगर, व्यवसायी हरि कार्कीलगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
बुधबार सम्पन्न भएको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो । अधिवेशनले व्यवसायीहरूको तर्फबाट निर्वाचित हुने तीन सदस्यमा काजी गिरी, रमेशकुमार साह र हेमचन्द्र ढकाल निर्वाचित भएका थिए । यसैगरी कृषक प्रतिनिधिबाट राजेश मेहता, मच्छिन्द्र राई र महिला सदस्यमा ममता मेहता निर्वाचित भएका थिए । व्यवस्थापन समितिको पदेन सदस्यमा धरान वडानम्बर १३ का वडाध्यक्ष रहने विधानमा व्यवस्था छ । निर्वाचित सदस्यहरूमध्येबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।