विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा २३ करोड ३५ लाख मात्रै आन्तरिक आय सङ्कलन गरेको छ ।
विराटनगर महानगरपालिकाको आइतबार बसेको नगरसभाको पन्ध्रौं अधिवेशनमा सो जानकारी गराएको हो । नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गरिन् । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्ममा १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताइन् ।
चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो । त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवम् चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आय–व्ययमा उल्लेख छ ।
त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै सङ्कलन भएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेशन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्ध्रौं नगरसभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए । सीमित स्रोत र साधनको अधिकतम् प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको नगर प्रमुख कोइरालाको भनाइ थियो ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यान, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । बितेको अढाई वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १ सय ७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेनिङ वाल निर्माण सम्पन्न गरेको नगर प्रमुख कोइरालाले बताए ।
उनका अनुसार बहुवर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा बीएफएमअगाडिको सडक हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु भइसकेको उनले बताए ।