धरान । सुनसरी उद्योग वाणिज्य सङ्घले धरान–१६ स्थित रङ्गशालामा लगाएको ‘धरान एक्स्पो’ मा किनमेल गर्नेको घुइँचो बढेको छ ।
विशेषगरी दिउँसोको समयमा ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा घरायसी सामग्री खरिदका लागि ग्राहकहरू आउने गरेका छन् । उनका अनुसार जुत्ताचप्पल, सर्फ, साबुनलगायत खरिद गर्नेहरूको घुइँचो लाग्ने गरेको छ । त्यस्तै घरेलु उत्पादनहरू सख्खर, मह, किबीको जुसलगायतमा मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।
जुत्ताहरूमा चाहिँ विशेष अफर रहेकाले पनि घुइँचो लागेको व्यवस्थापक बरालको भनाइ छ । उनका अनुसार नेपालको उत्पादन क्यालिबर जुत्ता एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्ममा जुत्ता किन्न पाइने भएकाले पनि जुत्तामा विशेष आकर्षण रहेको देखिन्छ ।
बाहिरी बजारभन्दा केही सस्तो मूल्यमा पाइने भएकाले पनि ग्राहकहरूको आकर्षण देखिएको हो । त्यसबाहेक खानेकुरामा पनि विशेषगरी मानिसको आकर्षण देखिएको छ । गत पुस २५ गतेदेखि सुरु भएको १० दिने एक्स्पो माघ ५ गते सकिँदै छ ।
एक्स्पोमा एक सय ४२ वटा स्टल रहे पनि कतिपय स्टल खाली छन् । एक्स्पोमा नेपालबाहेक भारत, पाकिस्तान र बङ्गलादेशका सामग्रीहरू पाइन्छन् ।