धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी १३ दिने ‘धरान एक्स्पो’ मङ्गलबार सम्पन्न भएको छ ।
गत पुस २५ गतेबाट सुरु भएको एक्स्पो विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एक्स्पोको समापन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले गरेका छन् ।
१३ दिने एक्स्पोमा स्थानीय वस्तु, अन्तर्राष्ट्रिय
सामग्री तथा कृषिजन्य सामग्रीहरू बिक्रीका लागि राखिएका थिए । एक्स्पोमा
नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन सामग्री राखिएका थिए ।
एक्स्पोमा कुल १ सय ४२ वटा स्टल राखिएको थियो ।
समापनमा गायक
कुमा सागरले प्रस्तुति दिएका छन् । उनका लोकप्रिय गीतबाट धराने दर्शकहरूलाई
मनोरञ्जन गराएका थिए । एक्स्पोमा व्यापार, मनोरञ्जनको सङ्गमको रूपमा विकास
गरिएको छ । एक्स्पोमा के कति कारोबार भयो भन्नेबारेमा जानकारी दिइएको छैन ।
आयोजकले पत्रकार सम्मेलनमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने दाबी
गरेको थियो । तर विगतका अभ्यास हेर्दा पाँच करोड रुपैयाँ बराबरको कारोबार
भएको थियो ।