धरान । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा पतिपत्नीबीचको आपसी विवादपश्चात् पत्नीले आफ्नै शरीरमा आगो लगाउँदा उनको ज्यान गएको छ । गम्भीर घाइते बनेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
गत माघ ११ गते भारत अररिया जिल्ला घर भई हाल धरान–१४ मा डेरा गरी बस्ने बादल मलिक र शालु मलिकबीच विवाद भएपश्चात् शालुले आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएकी थिइन् ।
घाँटीदेखि कम्मरसम्मको भाग जलेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो भने त्यहाँ उपचार हुन नसकेपछि तत्कालै मोरङको विराटनगरस्थित ग्रीन क्रस अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा माघ १९ गते निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उपचारमा पति बादलसँगै
रहेका थिए । आगो लगाएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय धरानका
इन्स्पेक्टर कोमल ठाकुरको नेतृत्वमा प्रहरी खटिएको थियो । टोलीले घाइतेलाई
तत्कालै अस्पताल पठाएको थियो ।