धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) को श्रमदान अभियानमा सहभागी एक वृद्ध भीरबाट लडेर सिकिस्त घाइते बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  शनिबार साढे १२ बजेतिर वराहक्षेत्र नगरपालिका–१ बगुवा खोलाको भीरबाट धरानमा खानेपानी ल्याउनका लागि पाइप बिछ्याउने क्रममा धरान–११ का ६४ वर्षीय गुणराज राई भीरबाट खसेका थिए ।

उनी भीरबाट अन्दाजी १० मिटर तल झरी घाइते भएका थिए । उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रतिष्ठानको आइसीयुमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाका अनुसार घाइतेको अवस्था गम्भीर रहेको जानकारी आएको छ ।