धरान । सुनसरीको धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकसहित कर्मचारीले सर्वसाधारणको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले ५५ दिन अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन केही दिनअघि जिल्ला न्यायाधीवक्ताको कार्यालय (सरकारी वकिलको कार्यालय) मा बुझाएको थियो । उक्त कार्यालयले पनि अनुसन्धान गरी प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र आफ्नो रायसहित जिल्ला अदालत सुनसरीमा बिहीबार मुद्दा दर्ता गरेको छ । रकम हिनामिना तथा अपचलन गरेको कसूरमा दुई सय ६२ जनाविरुद्ध अदालतमा अभियोजन पत्र दर्ता भएको छ । ‘हामीले ५५ दिन लगाएर अनुसन्धान गरेका थियौँ । उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएका थियौँ’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले फोनसम्पर्कमा भने, ‘सरकारी वकिलको कार्यालयले रायसहित अदालतमा मुद्दा दर्ता भएको भन्ने सुन्नमा आएको छ ।’

सरकारी वकिलको कार्यालयले बिहीबार अदालतमा अभियोजन गरेपछि सहकारीका सञ्चालकसहितले १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार नौ सय १३ रुपैयाँ हिनामिना भएको दाबी गरेको छ । वराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने), स्वर्गीय बुबा इन्द्रकुमार विश्वकर्मा, स्वर्गीय आमा विष्णुमाया विश्वकर्माका विरुद्ध पनि अभियोजन भएको छ । अध्यक्ष शिवकुमारले पाँच अर्ब ८८ करोड ४० लाख ८४ हजार सात सय ३३ रुपैयाँ हिनामिना भएको अभियोजन पत्रमा उल्लेख छ । यस्तै उनका स्वर्गीय बुबा इन्द्रकुमारले दुई अर्ब ४५ करोड ७७ लाख १७ हजार पाँच सय ७६ रुपैयाँ र स्वर्गीय आमा विष्णुमायाले ७१ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उल्लेख छ । उनीहरूबाट उक्त रकम असूल गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शिवकुमारकी बहिनी मन्दिरा लामिछानेले एक अर्ब २३ करोड ११ लाख ९१ हजार एक सय रुपैयाँ, सहकारीका सञ्चालकमध्येका मानबहादुर विश्वकर्माको नाममा एक अर्ब ११ करोड ८१ लख ८१ हजार दुई सय १७ रुपैयाँ असूल गर्नुपर्ने अभियोजन पत्रमा उल्लेख गरिएको छ । 

दुई सय ६२ जनामध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ अनुसार कसूरको सजाय माग दाबी गरिएको छ भने अन्य ऋणीसहित दुई सय २२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसूरमा सजाय माग गरिएको छ । यस्तै पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको छ । सङ्गठित तथा सहकारी दुवैमा वराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमारसहित स्वर्गीय बुबा इन्द्रकुमार, आमा विष्णुमाया र बहिनी मन्दिरासमेत छन् ।

यस्तै सहकारीका अध्यक्ष मानबहादुरसहित हरिकुमार धमला (विक), प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पूर्णबहादुर कालिकोटे भनिने पूर्णकुमार विश्वकर्मा छन् । यस्तै रिना राई (लामिछाने), भोजमान लामगादे, गङ्गाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन विक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पालगायत छन् ।

धरान उपमहानगरपालिका–९ का शङ्कर थापा क्षेत्रसहित गरी चार हजार एक सय ६८ जनाले वराह ग्रुपसहित सहकारीका सञ्चालक तथा पदाधिकारीहरू र कर्मचारीहरूसमेतको मिलोमतोमा ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले पाँच अर्ब ८५ करोड ९८ लाख ७७ हजार सात सय ३९ रुपैयाँ रकम भराउन माग गर्दै जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा केहीलाई प्रहरीले पक्राउसमेत गरिसकेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानबहादुर विकको श्रीमती जतनमाया विक, गङ्गाबहादुर विककी श्रीमती सरिता कालिकोटे (विक), अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर रहेका छन् ।  

मुद्दा दर्तामा व्यक्तिहरूबाहेक संस्थाहरूलाई पनि प्रतिवादी बनाइएको छ । जसमा न्यू वराह ज्वेलरी, न्यूरोड पीपलबोट, वराह इण्डष्ट्रिज, वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाटलगायत छन् । यस्तै टाइम्स रेमिट प्रा.लि., गोर्खा एण्ड वराह ज्वेलरी इण्डष्ट्रियल प्रा.लि. नयाँ रोड पोखरा, न्यू वराह ज्वेलर्स न्यूरोड, वराह नेसनल इन्भेष्टमेन्ट प्रा.लि., वराह मोटर्स प्रा.लि., इन्द्र वराह ट्राभल्स एण्ड टुर्स प्रा.लि., इन्द्र वराह ज्वेलरी प्रा.लि. तालचिखे, नारायण वराह ज्वेलरी, वराह कृषिउपज तथा पशुपालन प्रा.लि., वराह फेमिली किचेन प्रा.लि., वराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्मेन्ट, वराह भेडेटार मल्टिपर्पोज कम्पनी प्रा.लि. भेडेटार, वराह डिपार्टमेन्ट स्टोर प्रा.लि., वराह प्रोपर्टी सर्भिस प्रा.लि., पीपलबोट वराह ज्वेलर्स प्रा.लि., श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., वराहा ग्रुप अफ कम्पनी, वराह चिल्डे«न वल्र्ड प्रा.लि. लगायत छ । 

वराह ग्रुप अफ कम्पनीअन्तर्गत रहेका सबै कार्य २०७९ जेठ २३ गतेबाट बन्द अवस्थामा रहेको छ । चार्टर्ड एकाउन्टेन्ट प्रज्वल अधिकारी शर्माले वराह बचत तथा ऋण सहकारीबारे विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नाममा रहेका विभिन्न २५ वटा कम्पनीले ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९ सय ७३ रुपैयाँ लगेको देखाएको छ । सङ्गठित अपराधको मुद्दामा प्रहरीले ५५ दिनसम्म अनुसन्धान गर्ने अधिकार राख्दछ भने ६० दिनभित्र अदालतमा अभियोजन गर्नुपर्ने व्यवस्था रहेको छ ।