विजयपुर । मदन भण्डारी राजमार्गअन्तर्गत धरान–८ मा स्थित तीन ढ्वाङे पुल दुई वर्षभन्दा बढी समयदेखि अलपत्र रहेकाले निर्माण गर्न धरान उपमहानगरले माग गरेको छ ।


बिहीबार उपमहानगरका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले पत्राचार गरी मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयसँग माग गरेका हुन् । उपमहानगरले आयोजना निर्देशनालयलाई पठाएको पत्रमा पुल निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ । पुल निर्माण नहुँदा पटक–पटक दुर्घटना हुने गरेको र केहीले अकालमै ज्यान गुमाउनुपरेको तथा घाइते हुने घटना पनि भएको जनाइएको छ ।


पत्रमा वर्षायाम सुरु भएसँगै खोला तथा पानीको बहाव बढेको उल्लेख गर्दै पुलको भग्नावशेषका कारण पानी थुनिने र आसपासका बस्ती डुबानको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । समयमै पुल निर्माण नभए ठूलो धनजनको क्षति हुन सक्ने र स्थानीयवासीको आक्रोश अझ बढ्ने नगरपालिकाको भनाइ छ । उपमहानगरले पटक–पटक पुल निर्माणका लागि पत्राचार गरेको भए पनि काम अघि नबढेको जनाएको छ ।