नेपालमा वैदेशिक रोजगारीको स्वरुप क्रमशः परिवर्तन हुँदै गएको छ। विगतमा विना सीप विदेशिने प्रवृत्ति हाबी थियो, जसका कारण धेरै नेपाली श्रमिकहरुले न्यून पारिश्रमिक, असुरक्षित कार्यक्षेत्र र शोषणको सामना गर्नुपथ्र्यो । तर पछिल्लो दशकमा श्रमिकहरुले सीप सिकेर जाने क्रम तीव्र भएको छ, जसका कारण उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित रोजगारी पाउन थालेका छन् । विगत तीन आर्थिक वर्षमा सीपयुक्त श्रमिकको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार, २०७८÷०७९ देखि २०८०÷०८१ सम्म २१ लाख ४२ हजार ६ सय १८ जनाले श्रम स्वीकृति लिएका थिए । तीमध्ये १६ लाख ९३ हजार ७ सय ४२ जना सीपयुक्त श्रमिक थिए भने ४ लाख ४८ हजार ८ सय ७६ जना अदक्ष श्रमिक थिए । चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिनामा मात्रै ५२ हजार ९ सय ५६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा ४८ हजार ३ जना दक्ष व्यावसायिक कामदार रहेका छन् । यो तथ्याङ्कले ४ जना विदेश जाँदा ३ जना चाहिँ कुनै न कुनै सीप सिकेर गएको देखिन्छ ।
विगत १० वर्षअघिको तथ्याङ्क हेर्ने हो भने यसको ठीक विपरीत छ । ४ जना विदेश जानेहरुमा ३ जना चाहिँ सीपविहीन अर्थात् अदक्ष श्रमिक विदेश जाने गरेका थिए । २०७०÷०७१ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये केवल १ लाख १८ हजार ३ सय ९१ जना मात्र दक्ष श्रमिक थिए, जबकि ३ लाख ३१ हजार ३ सय १७ जना अदक्ष श्रमिक थिए । अहिले यो अनुपात उल्टिँदा वैदेशिक रोजगारीका लागि भने सुखद् पक्ष हो । दक्ष श्रमिकहरु विदेश जान थाले पनि विदेशमा काम गर्न जाने श्रमिकको मृत्युको सङ्ख्या भने बढेर गएको छ । पछिल्लो १० वर्षको तथ्याङ्कमा विभिन्न रोग, शोषणलगायतका समस्याले मानसिक तनावमा पर्ने र विभिन्न रोगको शिकार हुने क्रम भने नरोकिनु विडम्बना हो । नेपालबाट सीपयुक्त श्रमिकको प्रवाह बढ्नु सकारात्मक भए पनि यसलाई अझ व्यवस्थित बनाउन आवश्यक छ । सरकारले श्रमिकहरुलाई सीपमूलक तालिम प्रदान गर्न, सुरक्षित रोजगारी सुनिश्चित गर्न र व्यक्तिगतरुपमा जाने श्रमिकहरुको सुरक्षा प्रत्याभूति गर्न प्रभावकारी नीति लागू गर्नु जरूरी छ । अझ सरकार सीपयुक्त कामदार विदेशिनुमा गर्व गर्ने होइन, यस्ता दक्ष जनशक्तिलाई दीर्घकालीनरुपमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै रोक्नेतर्फ सरकार, निजी क्षेत्र र नीति निर्माताहरुले ध्यान दिनु पर्दछ । मुलुकमा भएका सीपयुक्त जनशक्तिका लागि स्वदेशमै आवश्यक रोजगारी सिर्जना गर्न तीनै तहका सरकार आवश्यक कार्ययोजनासहित लाग्नु उचित हुनेछ ।
सीपयुक्त जनशक्तिलाई स्वदेशमा राख्न औद्योगिक विकास, स्टार्टअप र उद्यमशीलता तालिम, स्थानीय उत्पादन प्रवद्र्धन तथा निर्माण एवम् सेवा क्षेत्रमा नवीनतम् अवसरहरु सिर्जना गर्नुपर्छ । उनीहरुलाई रोक्न व्यावसायिक तथा प्राविधिक शिक्षा, युवाहरुलाई नयाँ प्रविधि सिक्न र विकास गर्न प्रेरित गर्ने केन्द्रहरु स्थापना गर्नु पर्दछ । सरकार नेपालीलाई विदेश पठाउन र रेमिट्यान्समा मात्र रमाएर हुँदैन । यो मुलुकको समृद्धिको तौरतरिका हुनै सक्दैन । दक्ष युवाहरुलाई आफ्नै देशमा मिहिनेत गर्न र त्यसका लागि वातावरण बनाउनु राज्यको दायित्व हो । सरकारले वैदेशिक रोजगारलाई वैकल्पिक बनाउन स्वदेशमै विदेशी मुलुकमा पाइनेजस्तै आकर्षक पारिश्रमिक दिन सकिने संरचना बनाउनु पर्छ । विदेशमा कार्यरत नेपालीहरुलाई स्वदेशमै लगानी गर्न प्रेरित गर्नुपर्दछ । यी काम राज्यले गर्नसके मात्र मुलुकको समृद्धिको ढोका खुल्नेछ ।