चैत ७ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । देशभरि सञ्चालन भइरहेको परीक्षाको विषयमा अनेक खालका टीकाटिप्पणीहरु सुनिन थालेका छन् । कतिपय स्थानमा एसईईमा परीक्षाका लागि निरीक्षक बसेकाहरुले नै चिट चोराएको खबरहरु पनि बाहिरिँदै आएका छन् । परीक्षालाई मर्यादित बनाउन बसेका निरीक्षकहरुले नै यस खालका भूमिका निर्वाह गर्नु आफैमा लज्जास्पद कुरा हो ।

पछिल्लो समय चिट चोराउने र चोर्ने शैलीमा पनि परिवर्तन भएका समाचारहरु बाहिरिएका छन् । सुनसरीको तराई क्षेत्रमा सञ्चालित परीक्षा केन्द्रहरुमा ह्वाट्स एप प्रयोग गरी चिट चोराएको भनी रङ्गेहात पक्राउ परेका छन् । सुनसरीमा शुक्रबार र आइतबार गरी नौ जनालाई कारबाही गरिएको अवस्था छ । आइतबार दुईजना निरीक्षक अनलाइनमार्फत् चिट चोराउँदै गर्दा रङ्गेहात पक्राउ परे । यो आफैमा लाजमर्दो विषय हो । 

निरीक्षकहरुको लापरबाहीका कारण एसईईको गरिमा र साख दिन प्रतिदिन खस्किँदो छ । एसईईलाई कुनै समय फलामे ढोकाको रुपमा चित्रण गरिन्थ्यो । एसईईको गरिमा पनि उँचो थियो । एसईईमा उत्तीर्ण हुनेहरुको शान, मान नै बेग्लै किसिमको हुन्थ्यो । तर, पछिल्ला वर्षहरुमा एसईईको मान्यता खस्किँदै गएको मात्रै छैन । एसईईप्रति मानिसहरुको विश्वास घटेर गएको छ । अझै विद्यार्थीहरुको पठनशैली खस्किँदै गएको छ । पढ्नेभन्दा चोर्नेतिर ध्यान दिन थालेका छन् । 

एसईईको गरिमा र साख बचाउनका लागि सबैले ध्यान दिनुपर्छ । विद्यार्थीमा बिग्रँदै गएको पठन संस्कृतिलाई पनि ध्यान दिनुपर्छ । चिट चोरेरै उत्तीर्ण गरिहाल्छु नि भन्ने भ्रमलाई तोड्नका लागि पनि परीक्षा केन्द्रहरुमा कडाइ गर्नुपर्छ । निरीक्षकहरुले आफूलाई इमान्दारिता र सत्यनिष्ठा राख्नुपर्छ । शिक्षकको दायित्व शिक्षा दिने हो । उनीहरुलाई सम्यक् ज्ञान दिने हो । प्राज्ञ बनाउने हो न कि उनीहरुलाई चोर्न सिकाउने हो । सानैबाट परिश्रम र मिहिनेत गर्न सिकाइयो भने मात्रै उनीहरुमा उत्खनन् गर्न सक्ने, खोज गर्न सक्ने र उनीहरुमा सिर्जनात्मक क्षमता विकास हुन्छ । त्यसका लागि शिक्षकले भूमिका खेल्नुपर्छ । तर, यहाँ शिक्षकहरु नै निरीक्षक बसेर चोराउनतिर लाग्ने हो भने उनीहरुमा मिहिनेत गर्ने, परिश्रम गर्ने र अनुशासन कायम गर्ने बानी हट्दै जान्छ । 

निरीक्षकले सत्कर्म गर्ने हो भने मात्रै विद्यार्थीहरुले आफूलाई तिखार्दै लान्छन् । नत्र हाम्रो मानसिकता र प्रवृत्तिमा परिवर्तन हुँदैन । अहिले हरेक अभिभावकले मेरा बच्चाहरु पढेनन् । सिक्ने इच्छा देखाएनन् भन्ने जनगुनासो सुन्दै आएका छौँ । यसका पछाडिका कारण पनि यी र यस्तै प्रवृत्तिको उपज हो । हामीले विद्यार्थीहरुलाई जिज्ञासु बनाइरहेका छैनौँ । चोर, छलछाम गर्ने बनाइरहेका छौँ । उनीहरुमा नयाँ ज्ञान प्रवाह गर्न सकिरहेका छैनौँ । किनकि हामी आ–आफ्नो स्थानबाट नसुध्रिने हो भने अरुलाई अर्ती छाँटेर काम हुँदैन । 

विद्यार्थीको भविष्य निरीक्षकको हातमा छ । ऊ केवल काँचो माटो हो । माटोले आफै आकार लिन सक्यो भने मात्रै फलदायी हुन्छ । राज्यलाई त्राण भर्ने कर्णधारहरुलाई फगत् शिक्षा दिनेतर्फ मात्रै हामी उद्यत् हुनु हुँदैन । राज्यलाई एउटा योग्य र सक्षम साथै सीपयुक्त नागरिकको आवश्यकता छ । हामी राजनीतिलाई गाली गरिरहेका छौँ । तर, हाम्रो चरित्र त्योभन्दा पनि गएगुज्रेको छ । यसलाई सुधार नगर्ने हो भने भविष्य निर्माण गर्न सक्दैनौँ । देशलाई सक्षम र स्वावलम्बी युवाहरु निर्माण गर्नका लागि उनीहरुलाई चिट चोराउने होइन, सिर्जनात्मक र मौलिक उत्तर दिन सक्ने योग्य नागरिक बनाउने हो । त्यसकारण अनुशासन विद्यार्थीले भन्दा बढी निरीक्षक र शिक्षकले सिक्न जरूरी छ । एसईई परीक्षालाई मर्यादित बनाउन हामी सुध्रिन आवश्यक छ ।