धरान । १३ वर्षको उमेरदेखि रिक्सा चलाउन थालेका तत्कालीन पूर्वकुसाहा गाउँपालिका–८ वासी मोहम्मद मुस्लिम ७३ वर्ष पुगिसके । मोरङको विराटनगरस्थित विमानस्थलमा उनी दैनिक भेटिन्छन् । विमानस्थलमा उत्रिनेहरूलाई सोध्छन्, ‘चोक जाने हो ? रिक्सा छ ।’

तर, अधिकांशले रिक्सा भन्ने बित्तिकै नाक खुम्च्याउने गरेको उनी बताउँछन् । ‘१३ बरसको उमेरदेखि रिक्सा चलाइरहेको छु । बन्दको बेलामा भारतको सिलिगुडीसम्म रिक्सा लिएर गएको छु’–उनले भने । ई–रिक्सा, टेम्पोलगायतले गर्दा पाइडलवाला रिक्सा बन्द भइसकेको उनी अनुभव सुनाउँछन् । विमानस्थलबाट चोकसम्म आइपुगेको उनले सय रुपैयाँ लिने गरेका छन् । ई–रिक्सा तथा अन्य सवारीले त्योभन्दा बढी लिने गरेका छन् । 

‘के गर्नु हामीलाई अब त कसैले पत्याउँदैन, हिजो यसैमा बसेर मान्छे हिन्थे’ उनी भन्छन्, ‘बन्दको बेलामा यहाँदेखि धरान, काँकरभिट्टा, दमकसम्म पुगेको छु ।’ १३ वर्षको उमेरमा रिक्सा चलाउँदा चारआना भाडा रहेको उनी सुनाउँछन् । ‘त्यो बेला भाडाको रिक्सा चलाउँथेँ, चार रुपैयाँ दैनिकी तिर्थें’ उनी भन्छन्, ‘अहिले एउटा रिक्सा कसाएको(बनाएको) ३५ हजार रुपैयाँमाथि जान्छ ।’ 

१० वर्षसम्म उनले भाडाकै रिक्सा चलाए । रिक्सा चलाएरै सात जनाको परिवार धाने । पाँच जना छोरीको बिहे गरिदिए । अहिले श्रीमतीको स्याहारसुसार पनि यही रिक्साको कमाइले गर्दै आएको उनी सुनाउँछन् । ‘अहिले रोगी भइगो, सुगर, प्रेसरको बिरामी भइहालो, यही चलाएर औषधि गर्दैछु’ उनी भन्छन्, ‘मेरो नाकको उपचार गर्दा ३ लाख खर्च भइगो । त्यो पनि यताउताबाट जोरजाम गरेँ ।’

चार रुपैयाँबाट भाडाका रिक्सा चलाउन थालेका उनले ५० रुपैयाँ भाडा भइञ्जेलसम्म चलाए । त्यसपछि आफ्नै बलबुतामा जीवनविकास नामक लघुवित्त संस्थाबाट ऋण लिएर आफैले रिक्सा बनाएको उनले बताए । ‘१३ वटा रिक्सा कसाइसकेँ, यो पनि (रिक्सातिर देखाउँदै) दुई वर्षअगाडि कसाएको थिएँ’ उनले भने, ‘अहिले त रिक्सा कसाएको पनि ३५ हजार रुपैयाँ लिन्छ ।’

चार रुपैयाँ भाडामा चलाउँदा उनले दैनिक १६ रुपैयाँसम्म कमाउने गरेको सुनाउँछन् । तर, अहिले कहिलेकाहीँ १६–१७ सय रुपैयाँसम्म हुने गरेको छ । ‘ई–रिक्सा नहुँदा १५–१६ सय दैनिक आम्दानी हुन्थ्यो । अहिले त ७–८ सय रुपैयाँ मात्रै हुन्छ ।’ रिक्सा नराम्रो भएका कारणले पनि ग्राहकहरू नआउने गरेको उनको भनाइ छ । ‘छत्री छैन, घाम हुन्छ, गर्मीमा रिक्सामा मान्छे बस्नै मान्दैनन्’–उनले भने । मोरङको विराटनगरमा हाल चारवटा मात्रै पाइडलवाला रिक्सा सञ्चालनमा छन् । सिटी सफारीहरूका कारण पनि रिक्साहरूको अस्तित्व लोप हुँदै गएको छ । 

उनले भने, ‘काम केही जानेको छैन हजुर, यही काम गरिरहेको छु । अर्को काम आउँदैन । यसैले यत्रो बरस काटिसकेँ । अब के गर्नु ?’ उनी भोलि के हुन्छ भन्ने आफूले केही पनि नसोच्ने गरेको बताउँछन् । गा.वि.स.हरूलाई समायोजन गरेका कारण हाल उनको घर दुहबी नगरपालिका १२ नम्बर वडामा पर्छ । दुहबीदेखि उनी दैनिक रिक्सा लिई विराटनगर विमानस्थलमा पुग्छन् । यात्रु कुर्छन् । पाएसम्म हिँड्छन् । नपाए दिनभरि त्यहीँ बस्ने गरेका छन् ।