नेपालमा हिजो भएको प्रदर्शनमा घटेको घटना हाम्रो इतिहासको सबैभन्दा कालो पानामा लेखिनेछ । लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि गोली प्रहार गरिँदा १९ जना (यो सम्पादकीय तयार पार्दासम्म एउटा) जेन जी पुस्ताका सन्तानले ज्यान गुमाए । यो केवल सङ्ख्यात्मक मृत्यु होइन, यो भविष्यका आवाजलाई चुप पार्ने अपराध हो । वीरगति प्राप्त गर्ने यो पुस्ताका ती जना नेपालका नयाँ ज्योति थिए, जसलाई सरकारले संवाद होइन, गोलीले जवाफ दिएको छ र आफ्नो निकृष्टताको पराकाष्टालाई उदाङ्गो पारेको छ ।
के यी युवा देशका शत्रु थिए ? के उनीहरु हातहतियारसहित हिंसात्मक भीड थिए ? होइन, उनीहरु त साधारण विद्यार्र्थी, कामदार, नेपालको सुखद् भविष्यको सपना देख्नेहरुका छोरा–छोरी, दाजु–बहिनी थिए । उनीहरुले मागेका कुरा हरेक नागरिकले गर्न पाउने संवैधानिक अधिकार थियो, अन्यायविरूद्ध बोल्ने, सडकमा आफ्ना माग राख्ने, भविष्य सुरक्षित गर्ने भन्ने पर्छन्् । तर राज्यले तिनको आवाजलाई खतराको रुपमा देख्यो, बङ्गलादेशको शेख हसिना र बङ्गलादेशको नियति सम्झ्यो, बङ्गलादेशको घटना नेपालमा दोहोरिने देख्यो र गोली दाग्यो । यो नाङ्गो रुपमा देखिएको राज्य–आतङ्कबाहेक अरु केही होइन ।
सरकारको यस्तो कदम कुनै पनि दृष्टिकोणले क्षमायोग्य छैन । न कानूनी हिसाबले, न राजनीतिक हिसाबले, न नै नैतिक हिसाबले । लोकतन्त्रको आधार नै सहमति, बहस र असहमतिको अधिकार हो । जब सरकारले नागरिकलाई गोलीको माध्यमबाट चुप गराउँछ, त्यो सरकारले वैधानिकताको आधार गुमाउँछ । गणतन्त्रका आफूलाई मसिहा ठान्नेहरुले प्रदर्शन गरेको राक्षसी रुप र उनीहरुको अन्त्यको निमन्त्रणा गरिरहेको छ । गणतन्त्रको जग हल्लिएकोमा पिर छ उनीहरुलाई ।
अझै विडम्बना के छ भने यस्तो घटनापछि सरकारले दिने औपचारिक ‘दुःख व्यक्त’ वा घटनाको छानबिन समिति जस्ता खोक्रा शब्दहरु अब स्वीकार्य छैनन् । हामीले विगतमा यस्ता घटनाहरुको अनुसन्धान देखिसकेका छौँ–वर्षांैसम्म लम्बिने, सत्य लुकाउने, अपराधीलाई बचाउने, अन्ततः पीडितलाई न्यायबाट टाढा राख्ने । यसपटक त्यस्तो हुन दिनु हुँदैन । जसले आदेश दियो, जसले गोली चलायो, र जसले उच्चस्तरमा यस्तो हिंसालाई अनुमोदन ग¥यो, उनीहरुलाई कानूनको कठघरामा उभ्याउनै पर्छ ।
अन्तर्राष्ट्रिय समुदायले पनि यसमा मौन रहन मिल्दैन । नेपाल मानवअधिकार र लोकतन्त्रको पक्षमा प्रतिबद्ध मुलुक हो भन्ने वाचा गरेको छ । आज भएको हत्याकाण्डले ती सबै वाचा ध्वस्त पारेको छ । मानवअधिकार निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय शक्तिहरुले सरकारलाई जवाफदेही बनाउन दबाव दिनुपर्छ । तर सबैभन्दा ठूलो जिम्मेवारी नेपाली जनता आफैको हो । यो केवल १८ परिवारको पीडा होइन, यो सम्पूर्ण राष्ट्रको घाउ हो । हामी सबैले आवाज उठाउनै पर्छ । यी १८ युवाको बलिदान केवल आँसुमा बगेर हराउन दिनु हुँदैन । बरु यसलाई नयाँ सङ्घर्षको दियो बनाउनु पर्छ ।
आजको दिनलाई इतिहासको पानामा कालो अक्षरमा लेखिनेछ । तर इतिहासले मात्र होइन, आजै हामीले निर्णय गर्नुपर्छ, काले काले मिलेर खाउ“ भाले भन्ने प्रमुख राजनीतिक दलका यो सरकारको अक्षम्य अपराधलाई छोड्ने कि न्यायका लागि उठ्ने भन्ने प्रश्न अबको टड्कारो प्रश्न हो । यदि हामी आज मौन रह्यौँ भने भोलि अरु निर्दाेषले फेरि गोली खानु पर्नेछ र नेपालमा उनीहरुको हालीमुहाली पुस्तौंसम्म चलिरहनेछ ।
आजका युवाको बलिदानीले एउटा चेतावनी दिएको छ, नेपाल युवाविहीन भएर अगाडि बढ्दैन । युवाको रगतले सिञ्चिएको भविष्य कहिल्यै पनि सरकारले गोली हानेर थाम्न सक्दैन । न्याय अहिले नै खोज्नुपर्छ, ढिलाइ अब अपराध हुनेछ । वीरगति प्राप्त गर्नुहुने युवाहरुको आत्माको चिर शान्तिको कामना गरौं । शोकाकुल परिवारजनमा हार्दिक समवेदना । ती युवाहरुको रगतबाट लाखौं लाख परिवर्तनकामी रक्तवीजहरु अब जन्मिनेछन् । अनिमात्र उहाँहरुको आत्माले शान्ति पाउनेछ ।