विजयपुर । किरात राई समुदायले क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यमा पहिलो पटक साकेला सिली प्रदर्शन गरेका छन् ।
उभौली पर्वको अवसर पारेर मे २३ शनिबार कार्यक्रम आयोजना गरिएको हो । ब्रिटिस कोलम्बियाको सर्रे स्थित बियर क्रिक पार्कमा आयोजित कार्यक्रममा किराती तथा गैरकिराती समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा कोलम्बिया विश्वविद्यालयमा पीएचडी गरिरहेकी अनुदिप देवान र रिस्ता राईले साकेला सिलीको सांस्कृतिक महत्वबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सो क्षेत्रका ज्येष्ठ नागरिक अरुण राईलाई सम्मान गरिएको थियो भने किरात राई यायोक्खाका पूर्व महासचिव सोमा राईलाई ‘सांस्कृतिक जागरण योद्धा’को रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रम संयोजक सञ्जय याङबाङका अनुसार विदेशको व्यस्त समय व्यवस्थापन गर्दै साकेला सिली आयोजना गरिएको हो । उनले व्यक्तिगत रूपमा रकम संकलन गरी साकेला सिलीमा प्रयोग हुने सांस्कृतिक बाजा नेपालबाट खरिद गरेको बताए ।
ब्रिटिस कोलम्बिया राज्यमा पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल बनाउन व्यवस्थापन अनुदिप देवानले सम्हालेकी थिइन् भने सिलीको नेतृत्व राजेशन राईले गरेका थिए ।
कार्यक्रममा किराती परम्परागत परिकारको स्वाद चखाउन चाम्रे, गुन्द्रुकको अचार, वाचिपा (तिते) र फिलुङ्गेको अचारलगायतका परिकारसमेत राखिएको थियो ।