खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।


शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


पहिरो खसेसँगै उक्त मार्ग हुँदै आवतजावत गरिरहेका यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।


प्रहरी प्रमुख मैनालीले पहिरोको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताए । उनले पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन नसकिएको बताए । स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको उनको भनाई छ ।


खाँदबारी–किमाथाङ्का सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक सञ्जाल हो । सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन् ।


उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले पछिल्लो समय सडक आसपासका भिरालो क्षेत्रमा सुक्खा पहिरो खस्ने घटना बढ्दै गएको बताए । कमजोर चट्टान र ढुङ्गा खस्ने जोखिम अझै रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।


योजना कार्यालय, स्थानीय तह र सुरक्षा निकायको समन्वयमा आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी भइरहेको छ । रासस