धरान । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका छन् । उनी पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव सङ्कलनअन्तर्गत आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला सङ्गलबार पक्राउ परेका हुन् ।

पक्राउअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले काठमाडौँको भैँसेपाटीस्थित उनी बस्दै आएको निवासमा छापा मारेको थियो । अनुसन्धानका क्रममा विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धित कागजात तथा अन्य प्रमाण खोजिएको स्रोतले जनाएको छ । विभागको टोली दिउँसो करिब १ बजे निवासमा पुगेको थियो ।

जेन जी आन्दोलनका क्रममा भैँसेपाटीस्थित आफ्नै घरमा आगजनी भएपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् । पक्राउपछि पौडेललाई सुर्खेतबाट नेपालगञ्ज ल्याइएको छ । प्रहरी स्रोतका अनुसार उनलाई राति नेपालगञ्जस्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिएको छ । सोमबारै नेपालगञ्जबाट पहिलो उडानमार्फत् काठमाडौँ पठाउने भएको छ ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै एमाले नेता प्रदीप ज्ञवालीले अनुसन्धान र न्याय सम्पादनका क्रममा राज्यका निकायहरूले स्थापित कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले निष्पक्ष र गहिरो अनुसन्धान सम्पन्न गरी आवश्यक आधार जुटाएपछि मात्र पक्राउको प्रक्रिया अघि बढाइनुपर्ने धारणा व्यक्त गरे ।