विजयपुर । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
इटहरी–२० तराहारा पानीपिया जंगलबाट हरिनगरा–२ का १८ वर्षीय एइसन मन्सुरी र दुहबी–२ का २० वर्षीय मोहम्मद दिलकश पक्राउ परेका छन् । दिलकशको साथबाट १९० पिस प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, देवानगञ्ज–३ पाँचौ सिमराबाट सन्दिप कुमार मेहताको साथबाट ०.२१ ग्राम ब्राउन सुगर र धरान–५ देउरालीबाट मनिराज भुजेलको घरमा लुकाइराखेको ४.९१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।