भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसान वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
मकै, कोदो, धान तथा विभिन्न फलफूल बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती जोगाउन कठिन भएको भन्दै बेसार खेती गर्न थालेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज फुँयालले बाँदरको प्रकोप रहेका क्षेत्रमा बेसार सुरक्षित र आयआर्जनको राम्रो माध्यम बन्दै गएको बताए । उनका अनुसार मकै, कोदोलगायतका बाली बाँदरबाट जोगाउन कठिन हुने गरेको छ ।
“मकै, कोदोजस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,” उनले भने, “बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या भएका ठाउँमा बेसार खेती गर्ने चलन बढ्दै गएको छ ।” बेसार खेतीबाट किसानले राम्रो आम्दानीसमेत गर्न थालेका छन् । भोजपुर नगरपालिका–५ की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादित बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ । उनका अनुसार हाल स्थानीय बजारमा बेसारको पीठो प्रति किलो रु. १०० देखि १२० सम्ममा बिक्री भइरहेको छ ।
उत्पादन भएको बेसार बिक्रीका लागि बजारको समस्या नरहेकाले किसान थप उत्साहित भएका छन् । जङ्गल आसपासका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार गर्न नपाउँदै बाँदरले नष्ट गर्ने समस्या वर्षौंदेखि रहँदै आएको किसानको भनाइ छ । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्ने गरे पनि बेसार जमिनमुनि फल्ने भएकाले सुरक्षित हुने गरेको छ । बाँदरले बेसार नखाने भएकाले बाँदर प्रभावित क्षेत्रका लागि यो उपयुक्त वैकल्पिक बाली बन्न थालेको उनले बताए ।
कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमा उत्पादन गर्न सकिने, औषधीय गुणसमेत रहेको तथा लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले किसानको बेसार खेतीप्रति चासो बढेको हो । बाँदरको प्रकोप बढ्दै जाँदा बाँझिन थालेका खेतबारीमा बेसार खेती विस्तार गरेर उत्पादन र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसान बताउँछन् । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि तथा प्रशोधन मेसिन उपलब्ध गराउन सके भोजपुरमा बेसार खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने किसानको भनाइ छ । – रासस