भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिका–५, सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।

ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेको क्षेत्रको संरक्षणसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग र विश्रामस्थललगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै तिनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार ऐतिहासिक महत्त्व बोकेको दुङमागढीको संरक्षण र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

“दुङमागढी एउटा ऐतिहासिक स्थल हो । यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो,” अध्यक्ष राईले भने, “यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गर्दै पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताइन् । दुङमागढीमा पर्यटकीय सम्भावना रहेकाले यसको प्रचारप्रसारमा समेत ध्यान दिइएको उनको भनाइ छ ।

“दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगारी सिर्जनासँगै गाउँको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिन्छ,” उनले भनिन्, “क्षेत्रको विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएका छौँ ।”

प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज तथा मनोरम दृश्य अवलोकनका लागि पुग्नेको संख्या बढ्दै गएको स्थानीयहरू बताउँछन् । यहाँबाट देखिने हिमशृङ्खला, समथर फाँट तथा आसपासको प्राकृतिक दृश्यले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । पूर्वाधार निर्माणसँगै दुङमागढीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ । रासस