[caption id="attachment_4337" align="alignnone" width="1024"] मृत्युको खवर पछि भावविहल बनेका अंकुरकी श्रीमति तथा आमा                                                                                तस्विरः धनबहादुर पुरी[/caption]

तरहरा / आत्मघाती बम आक्रमणमा मृत्यु भएका इटहरी उपमहानगरपालका–२४ तरहराका अङ्कुर तामाङको परिवार शोकमा डुबेको छ ।  पाँच वर्षअघि साथीहरुको साथमा अवैधरुपमा अफगानिस्तान गएका ३१ वर्षीय अङ्कुरको मृत्युले परिवार मात्र नभइ तरहरावासी नै शोकमा डुबेका छन् । गत चैतमा नयाँ वर्ष मनाउन आएका अङ्कुर वैशाख दोस्रो साता फर्किएका थिए । उनको मृत्युको खबरले अहिले ६५ वर्षीया आमा लाकमाया र ७८ वर्षीय बाबु भीमबहादुर भावविह्वल अवस्थामा छन् । हेटौंडामा स्टाफ नर्सको काम गर्दैआएकी अङ्कुरकी पत्नी गोमा गोले पनि मङ्गलबार तरहरा घर आइपुगेकी छिन । घर आइपुगेकी गोमा एकोहोरो अङ्कुरको नाम पुकार्दै रुन्छिन् । एक साताअघि मात्र अङ्कुरले आमासँग फोनमा कुराकानी गरेका थिए । पछिल्लोपटक अङ्कुर घर आएको बेला आमाले नजान भनेकी थिइन् । तर उनी मानेनन् । पैसा कमाउनुपर्छ भन्दै उनी गएको लाकमायाले भनिन् । अफगानिस्तानमा खतरा हुन्छ भन्दै परिवारले अङ्कुरलाई सुझाएका थिए । उनी बैशाख १७ गते हाजिर हुने भन्दै घरबाट हिँडेको परिवारले जानकारी दिएको छ । त्रसित वातावरणमै काम गर्नुपर्ने भएपनि राम्रो आम्दानी हुने भएपछि अङ्कुर अफगानिस्तान गएका थिए । पाँच वर्षअघि नेपाली सेनाको जागिर छाडेका अङ्कुर साथीहरुको च्यानलबाट अवैधरुपमा अफगानिस्तान गएको उनका दाजु देवराजले बताए । उनले भने, ‘अहिले लिगल भइसकेको थियो, नेपाल सरकारबाटै श्रम गरेर गएको थियो ।’ तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका अङ्कुरका सन्तान छैनन् । ‘हाम्रो परिवारमा नराम्रो भुइँचालो आयो, इमान्दार छोरालाई अपराधीहरुले मारे’, अङ्कुरको बुबा भीमबहादुरले भने, ‘त्यहाँबाट आएर अन्तै देश जान्छु भन्दै थियो, एक्कासी मृत्युको खबर आयो ।’

‘धन्न घर आएर बाँचे’ भरत राई, इटहरी २४ इटहरी–२४ कै भरत राई अङ्कुरसँगै एकै ठाउँमा काम गर्दैआएका थिए । एउटै मेसमा एक महिना अघिसम्म खाना खाएका राईलाई अङ्कुरको मृत्युको खबरले दुःखी बनाएको छ । जल्लावाद जाने रोडको छेउमा पेट्रोल पम्प हँुदै काममा जानु पथ्र्यो । ‘त्यहाँनेर डरमर्दो हुन्थ्यो’, भरतले भने, ‘हामी अरुबेला एउटै काम गर्दैआएका थियौं । म पनि एक महिना अघिमात्र घर आइपुगेको हुँ । घर आएको थिइनँ भने शायद मलाई पनि मार्थे होला ।’