धरान / मिस लिम्बू चौथो सस्करणको लागि पूर्वबाट १७ जना अन्तिम छनौटमा परेका छन् । सहभागी मध्येबाट १७ जनालाई अन्तिम छनौट गरेको आयोजकले जनाएको छ । मिस लिम्बूको लागि यसपटक पूर्वको ९ जिल्लाबाटै सहभागी बनेकोमा आयोजक याक्थुम युथ एसोसिएसन खुसी छ । ‘यस अघि संखुवासभाबाहेक सबै जिल्लाबाट सहभागी बनेको रेकर्ड थिएन् ।’ अडिसनकी निर्णायक एवं एसोसिएसनकी उपाध्यक्ष गीतकार मिना सिंगकले बताइन् । अडिसनमा अधिकांस प्लस टु अध्ययरत र त्यो भन्दा माथि अध्ययन गरिरहेकाहरु सहभागी बनेका थिए ।
ब्युटि प्याजेन्टहरुमा सहभागी बन्न भित्रै देखि इच्छा भएकी मोरङ केराबारीकी अन्जिता नेम्बाङले भनिन् ‘यस अघि पनि भिड्ने रहर थियो । तर, विभिन्न कारणले पाइरहेको थिइन ।’ जातीय पेजेन्ट भएकाले पनि उनी थप आर्कषित बनेको बताइन् । आफ्नो भाषा, संस्कृति र परम्पराप्रति निक्कै चासो राख्ने उनले यस्ता पेजेन्टहरुले सामाजिक सद्भाव बढाउने बताइन् ।
पेजेन्टका लागि उनीजस्तै लक्ष्मी मेन्याङ्बो, निसा हुक्पा चोङबाङ, सजिता तुम्सा, सरु हङ्मा सम्बाहाम्फे, आशिका आङबुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भूमिका माङ्देन, शोभा थेम्बू, सुस्मा चेम्जोङ, सलिना हुक्पा चोङबाङ, श्रेया थेगिम, विना सामेखाम, निसी मेन्याङ्बो र सेअरा आङ्खेवा अन्तिम छनौटमा परेका हुन् ।
अडिसनमा सहभागी युवतीलाई पत्रकार रत्न आचार्य, मुन्धुम विद् भरत तुङ्घङ, हिमाल राई, कलाकार शोभा खजुम, भिष्मा चेम्जोङ, साङ्मा खापुङ, पाभेल उदास, गीतकार मिना सिङ्घक, गायक एपी शेर्पाले प्रश्न सोधेका थिए । काठमाडौंको अडिसन भदौं १ गते हुँदै छ । त्यसपछि अडिसनमा छनौट हुने सहभागीहरुलाई असोज ४ गते ग्राण्ड फिनाले गर्दै मिस लिम्बू छनौट गर्ने छन् । विजेताले नगद ५० हजार रुपैया, फष्ट रनरअपले ३० हजार र सेकेण्ड रनर अपले २० हजार रुपैयासहित गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् । त्यस्तै विभिन्न सव टाइटलहरुसमेत रहेका छन् । प्रतियोगिताको मूख्य प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि रहेको छ ।