विश्वका २ सय ६५ वटा देशहरुका राष्ट्रिय गान मध्य नेपालको राष्ट्रिय गीत तेश्राो स्थानमा पर्न सफल भएको कुरा धेरैलाई थाहा नहुन सक्छ । मोरङको बेलबारीमा आयोजित अम्वर गुरुङ सम्झना र सम्मान कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले यो सूचना प्रवाह गरिरहँदा तालीले कार्यक्रमसभा गञ्जयमान भएको थियो । राष्ट्रकै गौरवपूर्ण राष्ट्रिय गीतको सृजक अम्वर गुरुङ हामी माझ नभएपनि उनलाई सम्झने जमर्को भएको थियो बेलबारीमा । दिउँशोको चर्को घामले बेलबारीको तमुवुद्धिष्ट गुम्वाको सभाकक्ष अझ वाफिएको थियो । दर्शकहरु पसिनाले निथ्रुक्क भिजेका थिए । मंचमा प्रस्तुत् गरिएको गीतहरुलाई दर्शकहरुले सहज रुपमा श्रवण गरिरहेका थिए । कार्यक्रममा गाईएका सबै गीत, नेपाली राष्ट्रिय गीतका संगीतकार तथा प्रयोगवादी संगीतिज्ञ अम्वर गुरुङप्रति समर्पित थियो । अम्वर गुरुङले नै सृजना गरिएको ११ वटा गीतहरु त्यहाँ गाईएको थियो । बेलबारीका कलाकार मेखराज कार्की,संजीव धिमाल,सीतादेवी राई,शान्ता राई , टेकराज मगर,यमुना पराजुलीले कार्यक्रमको शुरुवातमा राष्ट्रिय गीत अनि त्यसपछि रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो ...बोलको गीत गाएका थिए । त्यसैगरी सीतादेवी राई र संजीव धिमालले ए कान्छा मलाई सुनको तारा... बोलको गीत गाउदा मात्र कतिपय सहभागीहरुलाई थाहा भयो यति मिठा गीतको सृजना गुरुङले गरेका रहेछन् भनेर । त्यसपछि चर्चित गायक कुवेर राईले नौ लाख तारा...बोलको गीतलाई निकै मार्मिक रुपमा प्रस्तुत् गरेका थिए । पूर्वका नागरिकको तर्फबाट संगीतकार अम्वर गुरुङलाई मरणोप्रान्त सम्मान व्यक्त गर्न आयोजना गरिएको कार्यक्रममा उनका अरु सृजनाहरु पनि प्रस्तुत् गरिएको थियो । मेरो आँखालाई राखने...पोखिएर घामको...उकाली चढ्दा...जस्ता बोलका गुरुङका कालजायी सृजनाहरु पस्किएको थियो । ती गीतहरुलाई चर्चित गायक कुवेर राई,कृष्णभक्त राई,बलराम समालले सुमधुर स्वर दिएका थिए । ती गीतहरु सुनिरहँदा भावुक अनि नेपाली सांगीतिक आकासका चम्किलो तारा प्रति सम्मान व्यक्त गर्न पाउँदा गौरव पनि महसुस गरिरहेका थिए सहभागी दर्शकहरु । अस्वस्थ्यको वावजुध अम्वर गुरुङकी जीवन संगीनी विना गुरुङको उपस्थितिले कार्यक्रमको गरिमालाई अझ बढाएको थियो । पूर्वका नागरिकको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गरिरहँदा संगीतकार गुरुङकी पत्नी विना गुरुङले भावुक अनि हर्षित पनि दुवै देखिईन् । कार्यक्रमकै लागि आएकी अम्वर गुरुङकी छोरी अल्काले पिताको पछिल्लो दिनचर्या बारेमा मन्तव्य मार्फत राखेकी थिईन् । देश अनि नेपाली संगीतको वारेमा केहि गर्न अझै ईच्छा उनको पिताको रहेको छोरी अल्काले बताईन् । नेपाली नागरिक अनि देशले सम्झिएको परिवार आभारी रहेको पनि बताईन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले साहित्य,कला र संगीतमा सिमा रेखा नहुने बताए । अम्वर गुरुङको जीवनका विभिन्न पक्षको बारेमा चर्चा गर्दै रसिकले नेपाली संगीत प्रति गहिरो साधना र योगदानबाट नै अम्वर गुरुङ नेपाल र नेपाली प्रति अमर रहेका हुन् । त्यसैगरी कार्यक्रममा अर्का सम्मानित संगीतकार मणिकमल क्षेत्रीले अम्वर गुरुङ नेपाली संगीतलाई अन्तराष्ट्रिय स्तरमा कसरी लाने बारे चिन्तन गरिरहने विशेष पात्र रहेको बताए । त्यसैगरी श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङले राष्ट्रिय व्यक्तित्व अम्वर गुरुङको जीवनका घतलाग्दा पक्षहरु पस्केका थिए । कार्यक्रमका अर्का सम्मान्नित नेपाली चलचित्रकी पहिलो संगीतकार शान्ति ठटाललाई पनि सम्मानको कार्यक्रम रहेको थियो । अस्वस्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेकी ठटालले पठाएको पत्र वाचन गरिएको थियो ।