धरान/धरानकी प्रेशिका निरौला मोडलिङमा स्थापित भइसकेकी छिन् । उनी हाल म्युजिक भिडियोमा व्यस्त छिन् । ५ फिट ५ इन्च अग्ली प्रेशिकाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् । ‘हालसम्म १३ वटा म्युजिक भिडियो र २ वटा विज्ञापनमा भूमिका निर्वाह गरिसकेको छु’, उनले भनिन् । राजकुमार कालिकोटेको धोका दिनेर्ला, प्रविन राईको आउ नाचौं, अमर राईको ओ प्रिया, नितेन गजुरेलको आँखामा, शिवानी मोक्तानको अलिअलि, विशान राईको तिमलाई मात्र, वसन्त कार्कीको मनको, सुन्छुकी, कृष्ण भण्डारीको किन तिमी र पछिल्लो समयमा मिलन र गीता श्रेष्ठको भावनामा लगायतका बोलको गीतमा उनले अभिनय गरेकी छिन् ।
म्यूजिक भिडियो, विज्ञापन र पार्सल फिल्ममा छोटो भूमिकामा अभिनय गरिसकेकी उनले पूर्वका अधिकांश फेसन शोमा सहभागी भइसकेकी छिन् । प्रेशिका आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । प्लस टु सकिसकेकी उनी मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत चाहन्छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् । धरान जेसिजको आयोजनामा सम्पन्न मिस एसएलसीमा फोटोजेनिकको उपाधि हात पारेकी प्रेशिकाले अभिनयको प्रशिक्षणसमेत लिएकी छिन् । ‘भविष्यमा राम्रो कलाकार बन्ने सोच छ’, उनले भनिन्, ‘अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु ।’ प्रेशिकाले यो क्षेत्रलाई समाजले अझै नकारात्मक रूपमा लिने गरेको बताउँछिन् । ‘ मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रूपमा पनि हेरिनुपर्छ ।’ उनले भनिन् ।
सानैदेखि कलाकारिता क्षेत्रमा लगाव राख्ने प्रेशिका सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्छिन् । उनले भनिन्–‘पढाई र मोडलिङ एकसाथ अघि बढाउँछु ।’