
इटहरी/ सुनसरीको औरावनी गाविसका चुलाई चौधरी र आशनारायण चौधरीका नाममा रहेको जग्गा विवाद चलेको २० वर्ष भयो । यस अघि पनि उनीहरु बीच गाउँले बसेर विवाद मिलाउने प्रयास नगरेका होइनन् तर, साँधको विवाद मिल्न सकेको थिएन । थुपै्र पटक आफ्नो जग्गाको साँध आश नारायणले मिचेको भन्दै चुलाईले गाउँले बोलाईन् भद्र भलाद्मी बसे निकास निस्किएन अन्तत उनी अदालत जाने अवस्थामा थिइन् ।
तर, कानुनी उपचारको लागि गाविसमा स्थापना भएको मेलमिलाप केन्द्रले यति वेला आएर दुवैलाई मिलाउन सफल भएको छ । ‘दुवै जनालाई राखेर हामीले नै जिल्लाबाट अमिन बोलाउन लगायौं’ औरावनी गाविस मेलमिलाप केन्द्रका संयोजक वीरनारायण चौधरीले भने ‘हामी सँगै बसेर उनीहरुले मन माझामाझ गरे अहिले उनीहरुमा हेलमेलनै बढेको छ ।’ लामो समय विवाद गरेर बोलचाल बन्द भएका उनीहरुमा हेलमेलनै बढ्न थाले पछि दुवैलाई चित्त बुझाइएको महसुस भएको उनले बताए ।कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) ले गाविसमा स्थापना गरेको मेलमिलाप केन्द्रमा चुलाई र आशनारायणको मात्र होइन २०७३ असार पछि साना ठूला गरी औरावनीमा ४५ वटा विवाद साम्य पारेको छ । ७ वटा विवादमा छलफल चलिरहेको छ । विवाद मिलाउने तरिकाबारे ८ दिनसम्म तालिम लिएर आएका गाउँका २७ जना प्रतिनिधीहरुले विवाद मिलाउँदा दुवैको जीत जीतको समेत महसुस गराउने गरेको सेलर्डका कार्यक्रम संयोजक विरेन्द्र बस्नेतले बताए ।यता सुनसरीकै बाक्लौरी –७ का शकुन्तला चौधरी र अजितराम चौधरी बीचभने रुखको कारण विवाद बढेको लामो समय भएको थियो । अजितले आफ्नो जग्गामा रुख लगाए भने सिमाना जोडिएको शकुन्तलाको घरलाई असर गरे पछि शकुन्तलाले रुख हटाउन आग्रह गर्दै आएका थिइन् । नत अजितले रुख काटे नत शकुन्तलासँग राम्रो भयो । जब शकुन्तला गाविसमा स्थापना भएको मेलमिलाप केन्द्रमा निवेदन लिएर गइन् ।
गाविसका मेलमिलाप केन्द्रको बैठक पछि अजित रुख काट्न सहमत भएको बक्लौरी गाविस मेलमिलाप केन्द्रका सदस्य भवानी ढकालले बताए । रुख काट्दा शकुन्तलाको घरलाई क्षति समेत गरे पछि अजितले घरको क्षति पनि तिर्ने सहमति भएको र दुवैमा सम्वन्ध समेत राम्रो भएको ढकालले बताए । कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड)ले सुनसरीका चार गाविसमा मेलमिलाप केन्द्र स्थापना गरे पछि गाउँका साना तिना विवाद गाउँमै मिल्न थालेका छन् । पहिलो चरणमा सुनसरीका सात गाविसमा यस्तो कार्यक्रम शुरु गरिने सेलर्ड सुनसरी कार्यक्रम संयोजक विरेन्द्र बस्नेतले बताए । उनका अनुसार सुनसरीको औरावनी, बक्लौरी, पूर्व कुशाहा र तनमुना गाविसमा अहिलेसम्म मेलमिलाप केन्द्र स्थापना भइसेकेका छन् । असार महिना पछि खुलेका यी केन्द्र मध्ये औरावनीमा ५२, बक्लौरीमा २४, पूर्व कुशाहामा १५ र तनमुनामा पनि सोही आधारमा विनेदन दर्ता भएको ती केन्द्रले जनाएको छ । दर्ता भएमा मध्ये ९० प्रतिशत निवेदनमा मेलमिलाप कर्ताले छलफल गराई विवाद साम्य पारेको संयोजक बस्नेतले बताए ।
उनका अनुसार क्रममा फौजदारी प्रकृतिका बाहेकका मुद्धा गर्न समन्वय घरायसी विवाद, जग्गा सम्बन्धी मुद्धाहरु यति वेला गाउँमै मिल्न थालेका छन् । गाइ वस्तुले घाँस चरेको विषयमा उठ्ने विवाद पनि केन्द्रमा जाने गरेका गरेका छन् । अघि यस्ता मुद्धा प्रहरी जाने गरेका थिए । अहिले सेलर्डले प्रहरी, महिला विकास कार्यालय, जिविस, गाविस, अदालतसँग समन्वय गरी मेलमिलाप कर्ताले विवाद मिलाउन थालेका छन् । साना तिना विवाद मिलाउन गाविसको सहकार्यमा एक गाविसका प्रत्येक वार्डबाट ३÷३ जनाको दरले प्रतिनिधी छनौट गर्छन् । उनीहरुलाई ८ दिनसम्म तालिम दिइन्छ । तालिममा सिकेका कुराबाट उनीहरुले गाउँका विवाद गाउँमै मिलाउन सक्षम भएको बस्नेतले बताए ।साना तिना विवाद मेलमिलाप केन्द्रमा आउन थाले पछि प्रहरीलाई पनि बोझ घटेको छ ।
समयसमुदायका सामान्य प्रबृत्तिका विवाद समुदायमा नै मिलाउने उदेश्यले सुनसरीमा सञ्चालनमा ल्याइएको कार्यक्रममा केन्द्रको उद्घाटन मा सुनसरी प्रमुख जिल्ला अधिकारी, सुनसरी जिल्ला अदालतका माननीय न्यायधिस, सुनसरी प्रहरी प्रमुखलगायतको सहभागिता हुने गरेको छ ।

































