विराटनगर/मोरङमा एचआईभीका ७९ जना नयाँ बिरामी थपिएका छन् । अघिल्लो वर्षसम्म १३ सय ३९ जना सङ्क्रमित सम्पर्कमा रहेकोमा आर्थिक वर्ष २०७२÷७३ मा ७९ जना नयाँ सङ्क्रमित सम्पर्कमा आएका हुन् ।जिल्ला जनस्वास्थ्य कार्यालयले भर्खरै तथ्याङ्क पुनरावलोकन सम्पन्न गर्दा एक वर्षको अवधिमा ४० जना पुरुष, ३७ जना महिला र दुई जना तेस्रो लिङ्गीमा नयाँ सङ्क्रमण भएको जानकारी दिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्वास्थ्य सूचना सेवाका फोकल पर्सन खेम सिवाकोटीका अनुसार अघिल्लो वर्षको वृद्धिको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या घटेको पाइएको छ ।मोरङमा नियमित एआरटी सेवन गर्ने सङ्क्रमितको सङ्ख्या भने दुई सय ३९ छ । उनीहरु अधिकाङ्शले कोशी अञ्चल अस्पताल विराटनगरबाट उपचार सेवा लिने गरेका छन् ।एचआईभी सङ्क्रमण तथा त्यससम्बन्धी उपचारसँग सम्बन्धित तथ्याङ्कहरु विगतमा जिल्ला एड्स समन्वय समितिले राख्ने गरेकोमा अघिल्लो वर्षबाट ती सबै हेल्थ इन्फरमेशन सर्भिसमा सिधै पठाउने व्यवस्था भएको छ ।
मोरङमा तथ्याङ्क पुनरावलोकन गर्ने काम झण्डै दुई महिना ढिलो भएको थियो ।जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला प्रोफाइल तयार गरिरहेको र त्यसमा एचआईभी सङ्क्रमितहरुको अवस्था उल्लेख गर्न आवश्यक भएका कारण ताकेता गरेर तथ्याङ्क अपडेट गरेको जनाएको छ ।