विराटनगर / जेष्ठ नागरिकहरुको सम्मानकालागि देशका उच्च पदस्थ व्यक्तिहरु शनिवार विराटनगर आउनुहुने भएको छ । राष्ट्रप्रमुख विद्यादेवी भण्डारी, प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रि माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा पूर्व गृहमन्त्रि बिजयकुमार गच्छदारसहित अति विशिष्ठ व्यक्तिहरु करिव तीन हजार जेष्ठ नागरिकलाई एकै स्थानमा सम्मान गर्ने कार्यक्रममा सहभागि हुन आउन लागेका हुन ।
मनमोहन स्मृती प्रतिष्ठानले विराटनगरको जैन भवनमा आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागि हुन राष्ट्रपति, प्रधानमन्त्रि र पूर्व प्रधानमन्त्रिले समय निश्चित भएको नेकपा एमालेका नेता जीवन घिमिरेले जानकारी दिए । शनिवार ११ बजे सुरु हुने कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम प्रतिष्ठानले तय गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको र शुक्रबारसम्ममा सम्पुर्ण तयारी पुरा हुने आयोजक कमिटि प्रचार विभाग प्रमुख सत्य नारायण यादवले जानकारी दिए । राष्ट्रपति भण्डारीले एक सय वर्ष उमेर पुगेका सबै वृद्धवृद्धालाई व्यक्तिगतरुपमै सम्मान अर्पण गर्ने कार्यक्रम रहेको छ ।
जेष्ठ नागरिकहरु राष्ट्रको गहना भएको र उहाँहरुको लामो अनुभव भावि पुस्ताकालागि ठूलो ज्ञानको भण्डार भएकोले पनि सम्मानको महत्व छ । सम्मान कार्यक्रममा दुई हजार व्यक्तिहरुलाई सहभागि गराउने तयारी गरेको आयोजकलाई अहिले नाम टिपाउनेहरुको दवाव परेको छ । आयोजकले सो संख्या बढाएर तीन हजार पु¥याउने तयारी थालेको यादवले जानकारी दिए ।
पूर्वाञ्चलभरबाट प्रतिनिधिमुलकरुपमा वृद्धवृद्धाहरुलाई विराटनगरमा ल्याउने तयारी आयोजकले गरेको छ । पहाडी जिल्लाहरुबाट अघिल्लो दिन अर्थात कार्तिक ५ गते नै जेष्ठ नागरिकहरु विराटनगरमा आउनेछन् । उहाँहरुलाई स्थानीय अतिथिसदनमा खाने बस्ने प्रवन्ध मिलाइएको छ । उहाँहरुको खानाकालागि गोल्छा अर्गनाइजेशनले सहयोग गरेको छ । एमाले नेता भरतमोहन अधिकारी अध्यक्ष रहेकोको प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रमलाई भव्यता दिन स्थानीय पार्टी तथा अन्य समाजिक संघ संंस्थाहरुपनि सक्रिय बनेका छन् । राष्ट्रप्रमुखदेखि प्रधानमन्त्रि र प्रमुख दलका नेताहरु सहभागि हुने कार्यक्रमपछि जेष्ठ नागरिकको अधिकार र उहाँहरुलाई दिने सेवा सुविधा आदि विषयमा कार्यशाला गोष्ठी आयोजना गरिने छ । त्यसमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी विराटनगर घोषणापत्र जारी गर्ने कार्यसुची बनेको छ । कार्तिक ७ गते हुने कार्यशालामा विषय विज्ञ तथा सरोकारवालाहरुसहित करिव दुई सय जनाको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागि हुन राष्ट्रपति भण्डारी हेलिकप्टरबाट बिहान ११ बजे आउने कार्यक्रम तय भएको छ भने प्रधानमन्त्रि विहान ८ बजेको उडानबाट विराटनगर आइपुग्ने छन। कार्यक्रम स्थलमा ११ वटा स्वास्थ्य शिविर संचालन गरी वृद्धवृद्धाको कान, आँखा लगायत अन्य शारिरिक परिक्षण हुने छ । थप उपचार आवश्यक भएमा त्यस दिनको जाँच पुर्जी लिएर सम्वन्धित चिकित्सकको निजी क्लिनिकमा जानसक्ने र त्यसमा थप शूल्क नलाग्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।