kiratपाँचकन्या/ विश्व किरात महासङ्घको प्रतिनिधिहरुको एक दिवसीय बृहत सम्मेलन शनिबार इलामको चुलाचुलीस्थित हात्तिलेदामा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित अधिकाङ्श प्रतिनिधिहरुले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर उल्लेख भएपनि घुमाउरो पाराले हिन्दुराष्ट्र नै बनाएर अन्य धर्मलाई ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् । महासङ्घका कानुनी सल्लाहकार मकवान मेन्याङ्बोले राज्यको विभेदकारी नीतिले संस्था दर्तामा कानुनी अड्चन रहेको बताए ।

कार्यक्रमका सभापति एवं महासङ्घका अध्यक्ष डम्बरकुमार तुम्वापोले राज्यले कुनैपनि धर्मलाई विभेद गर्न नहुने बताए । विभिन्न समूहमा छरिएर रहेका विश्वभरका किरातीहरुलाई एकताको सुत्रमा बाँधेर अघि बढ्ने उद्देश्यले महासङ्घको स्थापना भएको तुम्वापोले बताए । ‘विश्वका किरातीहरु एक भए मात्र महागुरु फल्गुनन्दप्रतिको सच्चा सम्मान हुन्छ’, उनले भने । उनले नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको जन्मजयन्तिका दिन देशभर सार्वजनिक विदाको माग गर्दै ज्ञापनपत्र बुझाएको बताए । महासङ्घले देशभर विदाको माग गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूमार्फत् प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र पठाएको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रकाश जवेगुले फल्गुनन्दले देखाएको सत्मार्गमा लाग्ुनपर्नेमा जोड दिए । महासङ्घका सहसचिव पूर्ण चेम्जोङले संस्थाको विधान प्रस्तुत गरे । प्रस्तुत विधानमाथि कानुनी सल्लाहकार मकवान मेन्याङ्बो, महासङ्घका महासचिव नाम्लिङहाङ चेम्जोङ, महासङ्घका सेवासावा जय साम्वाहाम्फे र फल्गुनन्द नोमाङगेनाको तर्फबाट दिलकुमार आङदेम्वेले टिप्पणी गरे । किरात धर्म संरक्षक गुरु देवबहादुर लाफयङले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं महासङ्घका सल्लाहकार राजकुमार कार्की, सेवासावा गुरु नगेन्द्र लावती, महासङ्घका उपाध्यक्ष गंगाप्रसाद सावदेन, सल्लाहकारहरु नारायण सिंह लावती, धनराज तुम्वापो, हरिदेवी राई, किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सचिव निरन्ती तुम्वापोलगायतको उपस्थिति थियो ।

सम्मेलनले गरेको छलफलबाट संस्थाको नाम फेडेरेसन अफ वल्र्ड किरात एशोसिएसन (एफडब्लुकेए) राख्ने निर्णय गरेको छ । त्यस्तै, संस्थाको केन्द्रीय कार्यालय काठमाडौं उपमहानगरपालिका वडा नम्बर ८ मा राख्ने निर्णय भएको छ । संस्था दर्ता चाँडो गरिने अध्यक्ष तुम्वापोले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव सुन्दर नेम्वाङले गरेका थिए । यसैबीच ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्कीले पाँचथर लबे्रकुटीमा रहेको बहुभाषिक सङ्ग्रहालय निर्माणका लागि नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए । युमा माङहिम पाँचथरका अध्यष गजेन्द्र तुम्रोकलाई सो रकम प्रदान गरेका थिए ।