बेनी (म्याग्दी)/पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । pani gatta पानीको अभावमा जिल्लाका ज्यामरुककोट, भकिम्ली, मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाविसमा सञ्चालित बीस वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित बीस घरपरिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । बर्सेनि मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षदेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्दै आएको बरङ्जाको अर्जेखोलामा सञ्चालित पानी मिल बन्द गर्नुपरेको सञ्चालक डिलबहादुर श्रीषसले बताए । “अझै केही वर्ष यस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो, भने पानी मिल व्यवसाय नै विस्थापित हुन सक्छ” उनले निराश हुँदै भने । “पहिले फर्निचर पनि सञ्चालित सो मिलमा तोरीसहित दैनिक १५÷१६ मुरी धान, गहुँ, मकै, कोदो आदि अन्न कुटानी पिसानी हुने गर्दथ्यो । पानी मिलमा कुटानी पिसानी गरेको अन्न खानका लागि स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म भन्डारण गरेर राख्न सकिने बरङ्जा– ७ दुर्दीका मनलाल खत्रीले बताए । ‘घट्ट भन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भन्डारण गरेर उपभोग गर्दा पनि कीरा लाग्दैन’ खत्रीले पानी मिलको फाइदाबारे वर्णन गर्दै भने ‘खाँदा पनि स्वादिलो हुन्छ ।’ तर अहिले मिल बन्द हुँदा ग्रामीण क्षेत्रका बासिन्दा चिन्तित भएका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । डिजेल मिलको तुलनामा पानी मिल करिब पाँच गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । रासस