धरान/धरान–१० स्थित मेरिल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थीहरु पढाइसँगै सामाजिक कार्यमा लागेका छन् । ‘द बिकन’ नामक संस्था गठन गरेर सामाजिक सेवा गर्दै आएका उनीहरुले बेलाबेला सामाजिक सद्भाव देखाइरहन्छन् । बुधबार आफ्नो स्थापना दिवसको अवसर पारेर कम्बल, टोपी तथा बिस्कुट प्रदान गरेको छ । असहाय र अशक्त बालबालिका र वृद्घ–वृद्घाहरुलाई कम्बल, टोपी तथा बिस्कुट वितरण गरि ‘द बिकन’ले यस्तो सामाजिक सद्भावको कार्य देखाएको हो ।
मेरिल्याण्डका सिनियर शिक्षक तथा ‘द बिकन’को संयोजक मनोज राई र सो स्कुलका विद्यार्थीहरु लगायत अपाङ्ग पुनस्थापना तथा असाहय सेवा केन्द्र धराका कार्यकारी सुनिल खड्का, सेवक अभियानका संयोजक राजिव हलवाई लगायत विभिन्न संस्थाका व्यक्तिहरुद्वारा धरान भरिका अपाङ्ग तथा असहाय र असक्तहरुलाई उनीहरुको घर घरमा पुगेर न्यानो लत्ताकपडा र खानेकुरा वितरण गरेको छ । यसले गर्दा थोरै भए पनि यो चिसोमा न्यानोपनको आभाष उनीहरुले पाएका छन् ।
यति मात्र होइन यस संस्थाले धरान–८, सिद्घार्थ मार्ग बस्ने बहु–असक्त रति तामाङको २ महिनाको कोठा भाडा स्वरुप २५ सय नगद प्रदान गरेको छ । लत्ताकपडा र खानेकुरा वितरण गरिसकेपछि मेरिल्याण्ड बोर्डिङ स्कुलमा कार्यक्रम आयोजना गरिएको थियो । स्कुलका शिक्षक रामबाबु शर्माले असहाय र असक्तहरुलाई सहयोग गर्ने उद्देश्यले यो संस्थाको जन्म भएको र यसको पछाडि स्कुलका सिनियर शिक्षक तथा ‘द बिकन’को संयोजक मनोज राईको महत्वपूर्ण भूमिका रहेको बताए । स्कुलका निर्देशक मुगाधन राईले ‘द बिकन’को स्थापना हुनुको उद्देश्य महान र पवित्र भएको बताए । कार्यक्रम सञ्चालन कक्षा–९ का चन्दा राई र डिना भण्डारीले गरेका थिए ।
सामाजिक कार्यको लागि रुबिन राई, चाईजोल शाक्य, चिरज शाक्य, सुमन राई, आलोक श्रेष्ठ, न्यू मारुती इम्पोरियम, खुश्बु नाल्बो एन्ड डन नाल्बो, येरुसा राई, मनमाया गुरुङ, अर्निका राई, सबिना गुरुङ, नारायण आचार्य, टङ्कप्रसाद सापकोटा, बोधराज पोख्रेल, गोपाल राई, निश्चल पाल्लिखे, डिपोट सोसाइटी क्लब, मेट्रो फुड फ्याक्ट्रीको निर्देशक, जइसवाल किराना पसल लगायत अरु विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका थिए । यस सामाजिक कार्यको लागि ३० हजार रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको थियोे ।