धरान /प्रेमीसँग जवरजस्ती छुटाउन खोज्दा एक प्रेमिकाले जिल्ला प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् । सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा गाउँ बस्ने १८ वर्षकी ती किशोरीले कार्यालयको शौचालयमा गएर विष सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन् । अभिभावकको असहमतिका वावजुत सोही गाविस निवासी २० वर्षका युवकसँग प्रेम विवाह गरेका जोडीलाई मंगलबार सोधपुछका लागि प्रहरी कार्यालयमा झिकाइएको थियो । दुवै पक्षका अभिभावकको उपस्थितिमा केटीको उमेर नपुगेकाले छुट्याउने प्रयास गरिएको थियो । प्रेमीसँग छुट्टिने निश्चित देखिएपछि अचानक पिसाव लागेको भन्दै केटी शौचालयमा पसेकी थिइन् । शौचालय भित्रै उनले आफूसँगै लुकाई राखेको नाम नखुलेको विष सेवन गरेकी थिइन् । तत्काल नै उनलाई प्रहरीको सहयोगमा स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याइएको थियो । तर त्यँहा उपचार हुन नसकेपछि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । प्रहरी उपरीक्षक दिवेश लोहनीले केटी नावालक भएकाले दुवै पक्षको अभिभावकको उपस्थितिमा जिम्मा लगाउने सामान्य प्रयास गरिएको बताए । तर केटीले प्रेमीसँग छुट्टीने त्रासमा त्यस्तो अप्रिय घटना गरेको उनको भनाइ छ ।