धरान/चलचित्र र रंगकर्ममा लामो समय विताएका प्रेम सुब्बाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘तारेभीर’को धरानमा विशेष प्रदर्शन गरिएको छ । नारीप्रधान विषयलाई उठान गरेको तारेभीरले सामाजिक र पारिवारिक प्रेमलाई केन्द्रमा राखेको निर्देशक सुब्बाको भनाई छ । प्रायः नेपाली चलचित्रले पुरुषलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्ने गरेको बेला तारेभीरले भने नारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गरेको छ । एउटा परिवारको कथाबाट सुरु हुने तारेभीरमा दिदी (विष्णु चेम्जोङ) र बहिनी (रेखा फागो)को वरिपरि घुम्छ । पारिवारिक कथा बोकेको चलचित्रमा बुवा (सञ्जीत राना) र आमा (मञ्जु श्रेष्ठ)को मृत्युले शोकमा डुबेका दिदी बहिनी शोकलाई शक्तिमा बदल्दै राष्ट्रप्रेममा लाग्ने निधो गर्छन् । झट्ट हेर्दा कोमल देखिने नारीहरु आईपर्दा कठोरपनि बन्न सक्छन् भन्ने कथा छ चलचित्रको । चलचित्रका निर्माता देउकृष्ण देवान विशेष शो बाटै चलचित्र सफल भएको बताउँछन् । उनि भन्छन् ‘दर्शकसँगै बसेर हेर्दा उनिहरुको प्रतिक्रिया राम्ररी बुझें । दर्शकको मन छुन सक्यो चलचित्रले ।’ प्रेम, विष्णु, रेखा, रञ्जीत, मञ्जुसँगै नविन कार्की, रमेश सिंह, अजयकुमार माझी, दिपेश श्रेष्ठ, निर्मल थापा, रमेश अधिकारी, सन्तोष थेवे लगायतले अभियन गरेको तारेभीरलाई सिनेम्याट्रोग्राफर युवराज राईले छायाँकन गरेका छन् । सनुप भट्टराई र प्रकाश गुरुङको संगीत तथा रिमा गुरुङ, विष्णु चेम्जोङको स्वर रहेको तारेभीरको धरानपछि दमक, दाङ लगायतका ठाउँमा विशेष प्रर्दशन गरेपछि जेठ १९ बाट देशव्यापी रुपमा रिलिज हुने निर्माता देवानले बताए ।