अन्तरविद्यालय एकल नृत्य प्रतियोगिता सिजन–२ मा धरान–१८ स्थित डिपो उच्चमाविका विमस पौडेलले नृत्य प्रतियोगिताको उपाधि जितेका छन् । युनाइटेड मल्टिआर्टस् डान्स सेण्टर धरानले आयोजना गरेको उत्कृष्ट–१८ प्रतिस्पर्धीलाई पछि पार्दै विमसले उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले ट्रफी, नगद २० हजार रुपैयाँ, विराटनगर–काठमाडौंको एकतर्फी हवाईटिकट प्राप्त गरेका छन् ।

यस्तै, धरान–१३ स्थित लोटस विद्याविहारका सन्तोष तामाङले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । उनले ट्रफीसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, धरान–१० मेरिल्याण्ड बोर्डिङ स्कुलका लोजी लिम्बूले तेस्रो हुँदै ट्रफीसहित नगद १० हजार रुपैयाँ हात पारिन् । विजयपुर उच्च माविकी कृषा श्रेष्ठ चौथो, आवरहोम बोर्डिङ स्कुलकी करिश्मा राई पाँचौं भए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मणिकुमार राई, प्रतियोगिताका मुख्य निर्णायक नगेन्द्र राई, हर्क चुम्मे, गत सालकी विजेता सलिना केसी, दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत जेठदेखि सुनसरीका विभिन्न विद्यालयहरुबाट छनौट गरी १ सय ३० जना प्रतियोगीहरुलाई समावेश गरी प्रथम चरणमा ५० जना र दोस्रो चरणमा २० जना प्रतियोगी छानिएका थिए । जसमा सहभागीहरुलाई नृत्यको अतिरिक्त वक्तृत्वकला प्रतियोगिता, वादविवाद, चित्रकला, निबन्ध लेखन, माइण्ड टेष्ट लगायतका प्रतियोगिता समेत आयोजना गरिएको थियो ।