राजविराज/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालिन सप्तरी बन्दले चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ ।
नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर सप्तरीमा चार जना कार्यकर्ताको मृत्यु भएपछि मोर्चाले अनिश्चितकालिन बन्दको घोषणा गरेको हो ।
बन्दले सदरमुकाम राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प छन् भने जिल्लाभरिकै सरकारी तथा गैर सरकारी कार्यालय, बजार, कलकारखाना, शैक्षिक संस्था समेत बन्द छ ।
यता, पूर्व–पश्चिम राजमार्गमा छिटफुट रुपमा सवारी साधान चलेपनि जिल्लाका मुख्य मुख्य बजारमा मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
जिल्लाको भारदह, बरमझिया, रुपनी, विसनपुर लगायतका स्थानमा मोर्चाका कार्यकर्ताले विहानैदेखि टायर बालेर अवरोध गरिरहेको सद्भावना पार्टीका केन्द्रिय दिनेश यादवले जानकारी दिएका छन् ।
बन्दकर्ताले पूर्वबाट आईरहेको १०–१२ वटा बसमा तोडफोड समेत गरेका छन् । तोडफोडबाट बसको सिसा फुटेको छ ।