भोजपुर/ रुद्राक्षको भाउ घटेपछि किसान मारमा परेका छन् । राम्रो भाउमा बिक्री गर्ने आशमा रहेका किसान यतिखेर गोदाममा थन्काएर बस्न बाध्य छन् ।

रुद्राक्षका लागि प्रमुख व्यापारिक केन्द्रका रूपमा मानिने उत्तरी दिंला बजारमा चहलपहलमा समेत कमी आएको छ ।

चीन र भारतमा निकासी हुँदै आएको थियो । ‘गत सालसम्म रुद्राक्षका दानाले राम्रो बजार पाउँदा बजारमा चहलपहल अहिलेभन्दा बढी हुन्थ्यो, रेमिटेन्स पनि धेरै भित्रिएको थियोु, उद्योग वाणिज्य संघ, दिंला शाखाका अध्यक्ष रमेश श्रेष्ठले भने ।

६ मुखे रुद्राक्ष प्रतिकिलो ६ हजारदेखि १० हजारसम्म बिक्री हुन्थ्यो तर हालको स्थितिमा त्यहि छ मुखे रुद्राक्षलाई किलोको एक सय पनि लाउँदैनन् ।

केही समयअघि रुद्राक्षले राम्रो भाउ पाए पनि पछिल्लो समयमा आएर मूल्य गिरावटले किसान चिन्तित बनेका हुन् । षडानन्द नगरपालिका आसपासका सबै गाउँमा रुद्राक्षका बगान पाइन्छ ।

प्रायःजसो सबै गाउँले किसानको मुख्य आम्दानीको स्रोत नै बनेको रुद्राक्ष अचानक बजारभाउ गिरेपछि कतिपय किसानलाई यो वर्ष घर धान्न वैकल्पिक उपाय सोच्न बाध्य भएका छन् ।

घरखर्च, केटाकेटीको पढाइ खर्च राम्ररी धानेको यो व्यवसायले यतिखेर सबैलाई चिन्तित तुल्याएको छ । यो वर्ष रुद्राक्षले राम्रो भाउ नपाएपछि ७० प्रतिशत रुद्राक्षका दाना बोटमै खेर जान थालेको छ ।

जिल्लाका प्रायःजसो सबै ठाउँमा यसको खेती गर्न थालिएको छ । जिल्ला वन कार्यालयले यो वर्षदेखि आफ्नो नर्सरीबाट किसानलाई रुद्राक्षका बिरुवामा विशेष सहुलियत र तालिम दिँदै आएको जिल्ला वन कार्यालयका प्रमुख रामबाबु शाहले बताए ।

रुद्राक्षको आम्दानी सडकमा लगानी : उत्तरी कुदाककाउले–८ वाछामा रुद्राक्षको दाना बेचेर सडक निर्माण गरेका छन् । स्थानीयबासीले रुद्राक्ष बेचेरै कमाएको आम्दानीबाट षडानन्द नगरपालिकाको दिंलादेखि कुदाकाउलेसम्म सडक बनाएका हुन् ।

२९ लाखको आफ्नै लगानीमा आठ किमि सडक खनेका छन् । स्थानीयले रुद्राक्ष बेचेर कमाएको आम्दानीको न्युनतम् १० हजारदेखि अधिकतम् दुई लाख रुपैयाँसम्म रकम जम्मा गरेका थिए ।

ट्र्याक्टर, ट्याक्सी, मोटरसाइकल जस्ता सवारीसाधन चल्न थालेपछि सदरमुकाम आउनजान, दैनिक उपभोग्य सामान ढुवानी गर्न र स्थानीय उत्पादन बिक्री गर्न सहज भएको सावित्रा उमावि कुदाककाउलेका शिक्षक सन्तोष राईले बताए ।