काठमाडौ/ सरकारले सप्तरी घटनामा मारिएका चार जनाका परिवारलाई जनही १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्दै जनही १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। मोर्चाले बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बुझाएको पाँचबुँदे ज्ञापनपत्रमा समेटिएकामध्ये क्षतिपूर्ति पनि एउटा माग थियो । सरकारले सप्तरी घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । तीन सदस्यीय हुने उक्त आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइने संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताए ।