भैरहवा/ घुस प्रकरणमा मुछिएका कार्यालय सहयोगीलाई विना शर्त रिहाईको माग गर्दै बेलहैयास्थित भैरहवा भन्सार कार्यालय बन्द गरिएको छ ।

घुस लिँदै गरेको तस्वीर खिच्दा पत्रकार कुटपिट गरेपछि पक्राउ परेका कार्यालय सहयोगी अनुज फुँयाललाई रिहाइ गर्न माग गर्दै भन्सार कार्यालयका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरु भन्सारको सबै काम ठप्प गरेर नाकामा बसेका छन् ।

अहिले भैरहवा भन्सार कार्यालयको मूल प्रवेशद्वारको ‘ब्यारियर’ डाउन गरेर कर्मचरीले काम छाडेका छन् । यसका कारण कार्यालयबाट हुने जाँचपास लगायतका सबै सेवा बन्द भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले कर्मचारीले सेवा बन्द गरेर आन्दोलन गरेको पुष्टि गरे ।

उनले भ्रष्टाचारी बचाउन नागरिकलाई सास्ती हुने गरी गरिएको आन्दोलनमा सहभागी सबै कर्मचारीलाई विभागीय कारवाही हुने चेतावनी दिएका छन् ।

अहिले भन्सार पास गरेर आउनुपर्ने र यताबाट जानुपर्ने सबै सामान भैरहवा भन्सार नाकामा रोकिएका छन् ।

मंगलबारे राति कार्यालय सहयगी फुयाँलले भारतीय ट्रक चालकसँग घुस लिँदै गरेको तस्वीर एक स्थानीय पत्रकारले खिचेका थिए । उनले ती पत्रकारलाई नियन्त्रणमा लिएर कुटपिट गरी फरार भएका थिए ।

पत्रकारको उजुरीका आधारमा प्रहरीले फुयाँललाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ ।