काठमाडौं/ अभिनेत्री स्वेता खड्काले सिन्धुपाल्चोकको ठूलो सिरुबारीस्थित माझी गाउँमा एकीकृत बस्ती निर्माण गर्दै छिन् । यसका लागि स्वेताले पति श्रीकृष्ण श्रेष्ठको नामबाट फाउण्डेशन खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

भूकम्प गएको २ वर्ष पुग्न लाग्दा पनि टहरामै बसेका त्यहाँका ६३ माझी परिवारलाई स्वेताले आवाससहित अन्य केही सुविधा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

यही अनुरुप श्रीकृष्ण श्रेष्ठको नाममा उनले फाउण्डेशन खोल्न लागेकी हुन् । कुनै संघसंस्था नभएर व्यक्तिगत हिसाबले बस्ती निर्माण गर्न नमिल्ने भएका कारण आफूले फाउण्डेशन खोल्न लागेको जानकारी स्वेताले दिएकी छन् ।

उनलाई यो बस्ती निर्माणमा अन्य केही सहयोगीले पनि सहयोग गर्ने छन् । सिन्धुपाल्चोक स्वेताका पति श्रीकृष्णको जन्म जिल्ला भएकाले पनि स्वेताले त्यस ठाउँमा एकीकृत बस्ती बनाउन चासो देखाएकी हुन् ।

उनले त्यो एकीकृत बस्ती पति श्रीकृष्णकै नाममा बनाउने भएकी छन् । स्वेताले फागुन २७ शुक्रबार गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर फाउण्डेशनको आधिकारिक घोषणा गर्दै छिन् ।

उनले उक्त कार्यक्रममा एकिकृत वस्तीको डमी समेत देखाउने भएकी छन् । स्वेताले स्वर्गीय पति श्रीकृष्णको चाहना पूरा गर्नको लागि आफू समाज सेवामा लागेको बताउँदै आएकी छन् ।

उनले यो वर्ष श्रीकृष्णको जन्मदिन पारेर घर आँगन नामक सामाजिक संस्थाको कार्यालयको जग बसाल्न एक लाख ५० हजारको सहयोग गरेकी थिइन् ।

समाज सेवा भनेपछि अघि सर्ने श्रीकृष्णको चाहनालाई स्वेताले कतिसम्म पूरा गर्लिन् त्यो भने समयले नै देखाउने छ ।