कन्चनपुर/ कन्चनपुरको पुनर्वास क्षेत्र फेरी तनावग्रस्त बनेको छ ।
भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट बिहिबार नेपालीको हत्या भएको बिरोधमा सर्वसाधारणहरुको बिरोध प्रदर्शनमाथि भारतीय प्रहरीले आज शुक्रबार समेत गोली प्रहार गरेपछि अवस्था झनै तनावपूर्ण बनेको हो ।
बिहानैदेखि हजारौं संख्यामा सीमाक्षेत्रमा जम्मा भएका नेपालीहरुले भारतीय ज्यादतीका विरुद्ध प्रदर्शन गरेपनि एसएसबीले ७ राउण्ड फायर गरेका थिए । नेपालीहरुलाई लक्षित गर्दै फायर गरेपछि सशस्त्र प्रहरीले समेत जवाफी फायर गरेको स्थानीय प्रेमसिंहले बताए ।
यसअघि बिहान भन्सार कार्यालयको ब्यारियर भत्काउँदै नेपालीहरुले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खोज्दा झडप भएको थियो । बिहिबारको घटनाको बिरोध गर्दै माओवादी केन्द्रले ७ नं. प्रदेश बन्दको घोषणा गरेको छ ।
“भारतीय ज्यादतीविरुद्ध स्थानीय जनताहरुमा निकै आक्रोश देखिन्छ” माओवादी नेता रमेश भट्टले भने, “अवस्था जतिखेर पनि नियन्त्रणबाहिर जानसक्छ” । भट्टका अनुसार सीमापारी रहेका भारतीय सुरक्षा बल नेपाली भूमिमा आएका छन् ।
बिहिबारको घटनापछि भारतको लखिमपुर खिरीका र कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीबीच उक्त क्षेत्रमा देखिएको कल्भर्ट सम्बन्धी विवाद साम्य गर्नवार्ता भएपनि सथानीय जनताले बिरोध जारी नै राखेका छन् ।
उता भारतीय विदेश मन्त्रालयले भने घटना दुखद भएको भन्दै गोली प्रहारको विषयमा एसएसबीसँग जवाफ मागिएको बताएको छ ।