ताप्लेजुङ/ शुक्रबार साँझ देखि परेको वर्षा सँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षा पछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ ।
कञ्चनजंघा हिमालको मुख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसा लगायतका ठाउ“मा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोला सहित प्रशिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फुट सम्म हिमपात भएको स्थानियले बताएका छन् । पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट परेको हिमपात अझै नरोकिदा दर्शनका लागि आएका तिर्थयात्रि मर्कामा परेका छन् ।
माथिल्लो फेदिमानै एक फुट सम्म र पाथिभरा डाँडामा सो भन्दा बढि हिमपात भएको पाथिभरा मन्दिरमा रहेका पुजारीले बताएका छन् । माथिल्लो फेदिको अस्थाई स्वास्थ्य चौकिका अहेव उमनाथ पौडेलले शुक्रबार पातलो हिमपात भए पनि अहिले विहानबाट बाक्लो हिउँ परिरहेको टेलिफोनबाट बताए ।
पाथिभरा दर्शनका लागि आएका २ सय बढि तिर्थयात्रि हिमपात भए पछि माथिल्लो फेदिमानै बसेका थिए । बालबालिका लिएर आएका हरुलाई हिमपात भए पछि फेदिभन्दा माथि नजान आग्रह गरीएको अहेव पौडेलले बताए । लामो समय पछि वर्षा भएपछि बालि लगाउन सहज हुने भएकाले तल्लो क्षेत्रका कृषकभने हर्सित भएका छन् ।