मधेशी मोर्चाको आन्दोलनका कारण मधेशका शहर सुक्न थालेको नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तरगत ३० फागुनमा दाङको लमहीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले आन्दोलनका कारण मधेश झन–झन कमजोर हुदै गएको बताएका हुन ।

“मधेशी मोर्चाको आन्दोलनका कारण मधेशका शहरहरु सुक्न थालेका छन् । बीरगन्ज, राजविराज, जनकपुर, सिराहा सबै सुक्न थालेका छन्, व्यापार व्यवसाय बिग्रिएको छ, मानिसहरु मधेसबाट बाहिरिन थालेका छन्” आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपाले भने “वास्तवमा उनीहरुले मधेसको होइन, विदेशको हितमा काम गरिरहेका छन् ।

पहाड र मधेसलाई अलग्याउनुपर्छ भन्ने माग नेपालको हितमा छैन ।” माओवादीले एक जातिलाई अर्को जातिसँग लडाउने जातीय विष फैलाएको आरोप लगाउदै अहिले मधेशी मोर्चाले त्यसैलाई अघि बढाइरहेको उनको भनाई थियो । स्थानीय निर्वाचन जसरी पनि गर्नु पर्ने नेपालले बताए । उनले भने, “स्थानीय चुनाव आजको आवश्यकता हो ।

०७४ माघ ७ गतेभित्र सबै चुनाव गर्नुछ । चुनाव गराउन सक्दैनन् भने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन ।” सभालाई एमाले उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए । कपिलवस्तुको जीतपुरमा आमसभाको आयोजना पछि एमालेको मेची महाकाली अभियान दाङ पुगेको हो ।