काठमाडौं/ कारागारमा रहने कैदी तथा बन्दीमाथि वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको पाइएको छ । कारागार विभागका अनुसार गत आर्थिक वर्षमा देशभरका कारागारका कैदी तथा बन्दीमाथि करिब ७३ करोड रुपैयाँ खर्च भएको थियो । यो खर्च विभागअन्तर्गतका बाल सुधार गृह र आश्रित पनि समावेश छन् ।

गत वर्ष सिदा/रासन खर्चअन्तर्गत ६७ करोड ५८ लाख ७४ हजार रुपैयाँ खर्च भएको थियो । यसैगरी, उपचारमा पाँच करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भएको कारागार विभागले जनाएको छ । सिदा खर्चबापत कैदी/बन्दीले दैनिक ४५ रुपैयाँ पैसा र सात सय ग्राम चामल पाउँछन् । सिदा खर्चमा कैदी/बन्दीको लत्ताकपडा तथा सुत्ने कपडा र एक ठाउँबाट अर्को ठाउँमा सार्दा हुने खर्च पनि समावेश छ ।

गत माघ मसान्तसम्मको तथ्यांकअनुसार देशभर १७ हजार तीन सय ३९ पुरुष र एक हजार दुई सय ५७ महिला गरी कुल १८ हजार पाँच सय ९६ जना जेलमा छन् । यी बन्दी र कैदी दुवैको तथ्यांक हो । यसमा एक हजार २२ विदेशी छन् । यसैगरी, देशभर ९६ जना आश्रित (कैदी र बन्दीसँगै रहेका उनीहरूका बच्चाबच्ची) छन् ।

त्यस्तै, भक्तपुर, विराटनगर र सराङकोटमा रहेका तीन वटा बाल सुधार गृहमा दुई सय ५५ जना छन् । आर्थिक वर्ष ०७१/७२ मा सिदा खर्च र उपचार खर्चमा गरी करिब ७२ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षका लागि सिदा खर्च ५८ करोड र ६३ लाख रुपैयाँ विनियोजन भएको छ । उपचार खर्चअन्तर्गत केन्द्रीय कारागारमा रहेको केन्द्रीय अस्पतालमा मात्र वार्षिक करिब दुई करोड रुपैयाँ विनियोजन हुने गरेको छ ।